बाढी प्रभावितको उद्धारमा वाइसियल नेपालका ६ सय युवा परिचालन
भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य तिब्र पारिएको छ।
विपद्का बेला अग्रमोर्चामा खटिने क्रममा नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन वाइसियल नेपालले पनि प्रभावित जिल्लाहरूमा आफ्नो ६ सय जनशक्ति स्वस्फूर्त रूपमा परिचालन गरेको छ। बाढीले ठूलो मानवीय क्षति पुर्याएको खबर आउनासाथ प्रभावित जिल्लाका संगठित सदस्यहरूलाई तुरुन्तै खोज तथा उद्धारका लागि खटाइएको वाइसियल नेपालले जनाएको छ।
राष्ट्रिय विपद्का बेला जहिले पनि जनताको सेवामा खटिँदै आएको बताउँदै वाइसियल नेपालका संयोजक पुष्प ओलीले रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा हाल ६ सयभन्दा बढी जनशक्ति उद्धारमा सक्रिय रहेको रैवारप्रेसलाई बताएका छन्।
घटनालगत्तै संगठनको जिल्ला समितिहरुलाई उद्धारमा सक्रिय हुन निर्देशन गरिएको थियो । संगठनले ११ गते रक्तदानमार्फत रगत संकलन गरेको थियो भने संगठन विभाग प्रमुख वर्षमान पुन ‘अनन्त’को सहभागितामा भदौ १२ गते वाइसियलको केन्द्रीय टोली विपद् प्रभावित क्षेत्रमा पुगेको थियो।
यातायात विच्छेद भएका रसुवाका विभिन्न स्थानमा ग्यास र लत्ताकपडा वितरण गरिएको छ। रसुवाको उत्तरगया र कालिका गाउँपालिकाका जनप्रतिनिधि तथा राजनीतिक दलहरूसँगको समन्वयमा चारवटा गाडीमार्फत अत्यावश्यक राहत सामग्री पीडितहरूलाई बाँडिएको छ। बेत्रावती बजारमा उद्धार कार्यमा प्रत्यक्ष सहभागिता जनाउँदै केही थान भाँडाकुँडा समेत पीडितहरूलाई हस्तान्तरण गरिएको छ।
पुल बगाएपछि धादिङबेसीको कठिन बाटो पार गर्दै हात्तीगौडा, दुप्चीलगायतका क्षेत्रमा पुगेको वाइसियलको टोलीले बाढीपीडितहरूलाई स्टेशनरी र जुत्ताचप्पल वितरण गरी राहत कार्य सम्पन्न गरेको छ।
स्थानीय स्तरमा खटिएका वाइसियलका सयौँ सदस्यहरूले कुनै पनि दलको झन्डा वा ब्यानर नबोकी निस्वार्थ रूपमा उद्धार र सहयोग गरिरहेको संगठनले बताएको छ। यसैबीच, फिल्डबाट काठमाडौं फर्किएपछि रैवारप्रेससँग कुरा गर्दै अध्यक्ष ओलीले पछिल्लो समय मुलुकमा विगत ३५ वर्षमा केही भएन भन्ने नकारात्मक भाष्य खडा गर्न खोजिए पनि गणतन्त्रपछि मात्र बनेका सडक र ट्र्याकहरूले नै अहिले रसुवा लगायतका जिल्लामा वैकल्पिक मार्गको रूपमा महत्वपूर्ण भूमिका खेलिरहेको प्रत्यक्ष देखिएको बताएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस