रास्वपा सांसदप्रति न्यायालय लचिलो
तोसिमाको पक्षमा सर्वोच्च, जोगाइदियो सांसदको जागिर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की संघीय सांसद तोसिमा कार्कीको सांसद पद जोगिएको छ ।
२०७९ को आमनिर्वाचनमा निर्वाचन आयोगले उम्मेदवारी खारेजको निर्णय गरेपछि कार्कीले २०७९ कात्तिक १४ गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।
उक्त रिटको कात्तिक १५ गते प्रारम्भिक सुनुवाइमै सर्वोच्चका न्यायाधीश कुमार चुडालको इजलासले अन्तरिम आदेश जारी गर्दै उम्मेदवारी कायम राख्न निर्वाचन आयोग र मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुर क्षेत्र नं ३ लाई आदेश दिएको थियो ।
कात्तिक २८ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले पनि अन्तरिम आदेशलाई निरन्तरता दिने आदेश दिएपछि कार्कीको ललितपुर–३ मा रास्वपाको तर्फबाट उम्मेदवारी कायम भएको थियो ।
यसअघि पुस २५ गते र फागुन ४ गते निसु तोकिए पनि सर्दै आएको थियो। तर सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले मंगलबार कार्कीको पक्षमा रिट जारी गरिदिएको हो ।
२०७९ को प्रतिनिधि सभाको निर्वाचनमा मेडिकल काउन्सिल सदस्य समेत रहेकी कार्कीलाई सार्वजनिक पदमा रहेको भन्दै आयोगले उम्मेदवारी खारेज गरेको थियो ।
उनी ललितपुर क्षेत्र नं ३ की निर्वाचित सांसद हुन् ।



तपाईको प्रतिक्रिया दिनुहोस