प्रतिनिधिसभामा गणपूरक संख्याबारे माओवादीले प्रश्न उठाएपछि...

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्ने कारबाही अघि बढिरहेका बेला गणपूरक सङ्ख्यामाथि प्रश्न उठेको छ । यद्यपि तीन मिनेटको जनाउ घण्टीपछि गणपूरक सङ्ख्या पुगेको यकिन भएको छ ।
नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सदनमा कुनै पनि प्रस्ताव निर्णयार्थ पेस गर्न उपस्थित सदस्य सङ्ख्याको एक चौथाइ हुनुपर्ने उल्लेख गर्दै सङ्ख्या यकिन गर्न आग्रह गरेका थिए ।
उनले सङ्ख्या नपुग भएको भनी प्रश्न उठाएपछि उपसभामुख इन्दिरा रानाले तीन मिनेट घण्टी बजाई गणपूरक सङ्ख्या यकिन गर्न सचिवालयलाई निर्देशन दिएका थिए ।
जनाउ घण्टीपछि उपसभामुख रानाले हालको सङ्ख्याअनुसार एक चौथाइ सङ्ख्या ६९ हुनुपर्नेमा उपस्थित सङ्ख्या ९५ रहेको यकिन भएको जानकारी गराउँदै बैठक कारबाही अघि बढाएका थिए ।
तपाईको प्रतिक्रिया दिनुहोस