शक्ति प्रदर्शनको जस लिन राजेन्द्र लिङ्देन र दुर्गा प्रसाईंको होडबाजी, आपसमा पाखुरा सुर्काउँदै

काठमाडौं । गत फागुन २५ मा पूर्वराजा ज्ञानेन्द्र शाह एक महिने पोखरा भ्रमण सकेर काठमाडौं फर्किएका छन् । यहीँ मौका छोपेर विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले हजारौँ जनता सडकमा ओरालेका हुन् ।
जनतालाई सडकमा आफूले ओरालेको प्रसाईंको दाबी छ । आफूले ओरालेको भीडमा राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपाल मिसिएको भन्दै असन्तुष्टि जनाएका छन् ।
उनले लिङ्देन र थापाको गोठाले नभएको बताएका छन् । प्रसाईंले पूर्वराजा शाहको स्वागतका लागि आफूले आयोजना गरेको कार्यक्रममा लिङ्देन र थापासमेत सम्मिलित भएको आरोप लगाएका छन् । पोखराबाट फर्केका पूर्वराजालाई त्रिभुवन अन्तर्राट्रिय विभानस्थलबाट निर्मल निवाससम्म पुर्याउने कार्यक्रमको आयोजना आफूले गरेको दाबी गर्दै आएका छन् ।
उनले विभिन्न सार्वजनिक कार्यक्रममै पूर्वराजालाई हजारौँ जनताले स्वागत गर्नुका साथै विमानस्थलबाट निर्मल निवास पुर्याउने कार्यक्रम आफैले आयोजना गरेको बताउँदै आएका छन् । त्यसको जस लिन राप्रपा र राप्रपा नेपाल उद्धत रहेको आरोप लगाएका छन् ।
प्रसाईंले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिमा पनि आफ्नो महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् । उनले झन्डै ६–७ महिना जेलजीवन विताएको समेत स्मरण गर्छन् । राजतन्त्र र हिन्दुराज्यको पतन हुनुमा राजाको सचिवालय र राप्रपा पनि उत्तिकै जिम्मेवार रहेको बताएका छन् ।
राप्रपा अध्यक्ष लिङ्देन संसद्मा पुगेर गणतन्त्रको सुविधा लिइरहेको आरोप लगाएका छन् । प्रसाईंले यो सबै पूर्वराजाको स्वागत पश्चात् आरोप लगाउँदै आएका छन् । आरोपको खण्डन नगरे पनि प्रसाईंसँग लिङ्देन र थापा रुष्ट रहेको स्रोत बताउँछ ।
काठमाडौंमा पूर्वराजा शाहको स्वागतको निहुँमा शक्ति प्रदर्शन गरेका लिङ्देन, थापा र प्रसाईंको परोक्ष विवाद बढेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस