Techie IT
२०८२ श्रावण ३, शनिबार

ओलीको स्थानमा विद्यादेवी? वाम गठबन्धनको सम्भावनाभित्रको वास्तविकता


नेकपा (एमाले)को आगामी ११‍औँ महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेतृत्वमा ल्याउने तयारी भइरहेको चर्चा चुलिँदो छ। भण्डारीको नेतृत्वमा २०८४ को आम निर्वाचनमा पुनः २०७४ सालजस्तै वामपन्थी गठबन्धन र पार्टी एकताको सम्भावना कम्युनिस्ट वृत्तभित्र बहसको केन्द्र बनेको छ।

यही सन्दर्भमा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भण्डारीसँग गोप्य भेट गरेको समाचार सार्वजनिक भएको छ । श्रेष्ठले भेटबारे खण्डन नगरी अमेरिका प्रस्थान गरेका छन् । यद्यपि उनका निकटका स्रोतहरूले भेटको सम्भावना अस्वीकार गरेका छैनन् ।

माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले असार २३ गते प्रेस विज्ञप्ति जारी गर्दै भण्डारी–श्रेष्ठ भेटको औचित्यमाथि प्रश्न उठाएका छन्। विज्ञप्तिमा स्पष्ट भनिएको छ, “एमालेसँग एकता गर्ने कुनै नीति छैन। समाचारमा उल्लेख भएजस्तो श्रेष्ठले भेटेकोबारे पार्टीमा कुनै जानकारी छैन।”

यसले माओवादी केन्द्र एमालेसँगको सम्भावित एकताले पार्टी छवि बिगार्न सक्ने देखेर सतर्क रहेको संकेत गर्छ । यद्यपि, वामपन्थी गठबन्धन वा एकता कम्युनिस्टको पुरानै चाहना हो— जुन कहिल्यै स्थायीत्वमा परिणत हुन सकेको छैन।

कम्युनिस्ट आन्दोलन सैद्धान्तिक रूपमा एउटै दर्शन ‘मार्क्सवाद–लेनिनवाद’मा आधारित भए पनि विभाजनको इतिहास निकै पुरानो छ। २०१९ सालपछिको क्रमशः विभाजनले आज ३० भन्दा बढी कम्युनिस्ट घटकहरू निर्माण भइसकेका छन्। निर्वाचन आयोगमा दर्ता २३ दलको नाममै ‘कम्युनिस्ट’ शब्द छ।

कार्यनीतिक रूपमा कम्युनिस्टहरूमा दुई धार छन्— एक, सशस्त्र विद्रोहमार्फत सर्वहारा सत्ता स्थापना गर्ने; अर्को, बहुदलीय पद्धतिमार्फत चुनावी लडाइँमा शान्तिपूर्ण ढंगले सहभागिता जनाउने।

आजका अधिकांश कम्युनिस्ट घटक दोस्रो धारतर्फ उन्मुख छन्। विप्लव समूह पनि शान्तिपूर्ण राजनीतिमा आएको छ। तर, एकता नहुनुको मूल कारण विचार होइन, नेतृत्वको द्वन्द्व र गुटगत संस्कार हो।

नेपालको कम्युनिस्ट आन्दोलनमा नेतृत्वको अहं संघर्ष र गुटगत पृष्ठभूमिको मनोविज्ञान गहिरो छ । ‘चौम’ र ‘माले’ बाट सुरु भएको विभाजनले अझ फरकफरक ‘स्कुलिङ’ सिर्जना गर्यो। प्रभावशाली नेताहरू एउटै पार्टीमा मिल्न नसक्ने प्रवृत्तिले एकतालाई अप्ठ्यारो बनाएको छ । 

२०७४ सालको वाम–गठबन्धनले करिब दुईतिहाइ बहुमत प्राप्त गरेको थियो । त्यो पनि दीर्घकालीन रूपमा टिक्न सकेन । माओवादी केन्द्र र एमालेको एकता चाँडै टुट्यो । त्यसपछिको अनुभवले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेप्रति आशावादी छैनन्।

माओवादी केन्द्र अहिले एमालेबाहेकका वाम दलहरूलाई एकीकृत गरी नयाँ वाम ध्रुव निर्माण गर्न चाहन्छ। सापकोटाको विज्ञप्तिमा उल्लेख छ, “एमालेबाहेकका पार्टीहरूसँग एकताको छलफल भइरहेको छ, तर एमालेसँग होइन।”

शनिबार माओवादी केन्द्र, एकीकृत समाजवादी, मसाल, नेकपा (खड्गबहादुर) र क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेताहरूबीच बैठक बसेको थियो। यसै सन्दर्भमा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालमाथि भ्रष्टाचार मुद्दा दायर भएपछि पार्टी थप अस्तित्व संकटमा परेको छ। आगामी चुनावअघि एमाले वा माओवादीमध्ये एकसँग एकताको सम्भावना देखिन्छ।

ओलीको कार्यशैली, उमेर र विगतका अनुभवका कारण उनको नेतृत्वमा नयाँ वाम गठबन्धन सम्भव नदेखिएको पृष्ठभूमिमा विद्यादेवी भण्डारीलाई विकल्पको रूपमा अघि सारिएको चर्चा भइरहेको छ।

तर, भण्डारी विचार, प्रवृत्ति र कार्यशैलीमा ओलीभन्दा फरक छन् भन्ने प्रमाण छैन । उनी ओलीभन्दा सहिष्णु देखिए पनि त्यो एकता र गठबन्धनका लागि पर्याप्त आधार बन्न सक्दैन।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट