Techie IT
२०८२ श्रावण १२, सोमबार

स्पेसएक्सको 'डाइरेक्ट टु सेल' सेवा : स्याटलाइटबाट सिधा स्मार्टफोनमा नेटवर्क


एलन मस्कको कम्पनी स्पेसएक्सले सञ्चार प्रविधिमा नयाँ क्रान्तिको सुरुवात गरेको छ । कम्पनीले आफ्नो महत्वाकांक्षी ‘स्टारलिङ्क डाइरेक्ट टु सेल’ सेवा व्यावसायिक रूपमा सुरु गरेको छ । यसले मोबाइल नेटवर्क नपुगेका ‘डेड जोन’ क्षेत्रलाई पनि स्याटलाइटमार्फत सोझै स्मार्टफोनसँग जोड्ने सुविधा दिनेछ । पहिलो चरणमा यो सेवा अमेरिका र न्युजिल्यान्डमा उपलब्ध गराइएको छ ।

यस सेवाको विशेषता के छ भने, यसका लागि कुनै विशेष किसिमको स्याटलाइट फोन आवश्यक पर्दैन । साधारण फोरजी स्मार्टफोनहरूमा नै यो प्रविधिले काम गर्छ। अमेरिकामा टी-मोबाइल र न्युजिल्यान्डमा वनएनजेडसँगको साझेदारीमा सेवा सुरु गरिएको हो। 

‘डाइरेक्ट टु सेल’ सेवा पृथ्वीको तल्लो कक्ष (Low Earth Orbit) मा रहेका स्टारलिङ्कका विशेष स्याटलाइटहरूलाई ‘अन्तरिक्षमा रहेका मोबाइल टावर’ को रूपमा प्रयोग गर्छ । अहिले ६५० भन्दा बढी यस्ता स्याटलाइटहरू परिचालनमा छन् । जब कुनै प्रयोगकर्ता जमिनको मोबाइल टावरको पहुँचभन्दा बाहिर जान्छ, उसकाे फोनले स्वतः स्याटलाइट नेटवर्क खोज्छ र फोनको स्क्रिनमा ‘SAT’ भन्ने चिन्ह देखिन्छ।

हालका लागि यो सेवा टेक्स्ट मेसेज (SMS/MMS) मा केन्द्रित छ । यसले फोटो, अडियो क्लिप आदानप्रदान गर्न मिल्ने सुविधा दिन्छ । यद्यपि आईफोन प्रयोगकर्ताका लागि एमएमएस सुविधा केही पछि मात्र उपलब्ध हुने बताइएको छ।

यस प्रविधिलाई विशेषगरी आपतकालीन अवस्थामा अत्यन्त उपयोगी मानिएको छ । प्राकृतिक विपत्तिका बेला मोबाइल टावरहरू नष्ट हुँदा पनि प्रयोगकर्ताहरू यो स्याटलाइट नेटवर्कमार्फत सम्पर्कमा रहन सक्छन् । अमेरिका र फ्लोरिडामा आएको हालैको आँधी र बाढीका बेलामा टी-मोबाइलले यस सेवामार्फत आपतकालीन क्षेत्रहरूमा कनेक्टिभिटी उपलब्ध गराएको थियो ।

टी-मोबाइलले आपतकालीन नम्बर ९११ मा टेक्स्ट सेवा निःशुल्क उपलब्ध गराउने घोषणा गरिसकेको छ । यसका केही प्रिमियम योजनाका ग्राहकहरूले यो सेवा निःशुल्क प्रयोग गर्न सक्छन्, भने अन्यले मासिक १० डलर तिरेर सेवा उपयोग गर्न सक्छन् । एटी एन्ड टी तथा भेराइजन जस्ता अन्य नेटवर्कका प्रयोगकर्ताले पनि यो सुविधा लिन सक्नेछन्।

यो सेवा हाल आईफोन १३ र त्यसपछिका मोडेलहरू, सामसुङ ग्यालेक्सी एस२१ पछि आएका मोडेलहरू, गुगल पिक्सेल ९ सिरिज, मोटोरोलाका नयाँ फोनहरू लगायत ६० भन्दा बढी स्मार्टफोनमा उपलब्ध छ।

स्पेसएक्सले सन् २०२५ भित्र अष्ट्रेलिया, क्यानडा, जापान, युक्रेन, स्विट्जरल्यान्ड, चिली, पेरु लगायतका देशहरूमा सेवा विस्तार गर्ने लक्ष्य राखेको छ। हाल टेक्स्ट सेवामा सीमित यो प्रविधिलाई आगामी दिनमा भ्वाइस कल, इन्टरनेट डाटा तथा आईओटी डिभाइसहरूसँग जोडिने गरी स्तरोन्नति गरिनेछ।

साथै, अक्टोबर महिनादेखि ह्वाट्सएप, एक्स (ट्विटर) तथा मौसमसम्बन्धी एपहरूमा पनि डाटा सपोर्ट थप्ने तयारी कम्पनीले गरिरहेको छ।

स्पेसएक्सको यो कदमले भविष्यमा मोबाइल सञ्जालको स्वरूप नै परिवर्तन गर्ने संकेत देखिएको छ। अब विश्वका दुर्गम भेगहरूमा पनि इन्टरनेट र मोबाइल सेवा सहज रूपमा उपलब्ध हुने सम्भावना अझ बलियो बनेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट