सुनसरीमा बाढीले ५० लाखको केरा खेती सखाप, किसानलाई आहात

सुनसरी जिल्लाको इनरुवा–४ का विनोद मेहताले दुई बिघा क्षेत्रफलमा लगाएको केराखेती बाढीका कारण नष्ट भएपछि उनी ठूलो नोक्सानीको सामना गरिरहेका छन्। आफ्नै जग्गामा प्रति बिघा आठ लाखको लागतमा मदरासबाट ल्याइएका मदरासी (चिनिचम्पा) जातका केराको बीउ रोपेका मेहताले यस खेतीबाट छठपर्वसम्ममा १० देखि १२ लाख रुपैयाँ आम्दानी लिने लक्ष्य राखेका थिए। तर, असोज ११ र १२ गते आएको बाढीले उनीसहित अन्य किसानहरूको केराखेतीमा व्यापक क्षति पुर्याएको छ।
मेहताको दुई बिघा क्षेत्रफलमा लगाइएको खेतीमध्ये १३ कठ्ठा केराखेतीमा बाढीको कारण क्षति पुगेको छ। बाढीले जमिन कटान गरेर बगाएपछि र पानी जमेकाले बोटहरू सुकेर नष्ट हुन थालेको उनले बताए। यस्तै समस्याले जिल्लाका अन्य केराखेतीमा पनि असर परेको छ।
कृषि ज्ञान केन्द्र, इनरुवाका प्रमुख निलकमल सिंहका अनुसार, बाढीले सुनसरी जिल्लामा करीब ५० हेक्टर क्षेत्रफलमा रहेको केराखेती नष्ट भएको छ, जसको कुल क्षतिको अनुमान ५० लाख रुपैयाँ बराबरको छ। सुनसरीको इनरुवा, भोक्राहा, हरिनगर र देवानगन्ज गाउँपालिकाका थुप्रै किसानहरूले केराखेतीमा बाढी र हावाहुरीको कारण ठुलो नोक्सानी बेहोरेका छन्।
स्थानीय किसानहरूले दैवीप्रकोपले केरा खेतीमा गम्भीर क्षति पुर्याएपछि सरकारले क्षतिपूर्तिबापत सहयोग गर्नुपर्ने माग गरेका छन्। केराखेतीको यो नोक्सानीले आगामी दिनमा बजारमा केराको अभाव हुन सक्ने र मूल्यमा समेत वृद्धि हुने आँकलन गरिएको छ। सुनसरी जिल्लामा हाल ५१० हेक्टर क्षेत्रमा केराखेती हुने गरेकोमा यो दैवीप्रकोपले कृषकहरूको आर्थिक अवस्थालाई गहिरो असर पुर्याउने देखिन्छ।
रासस
तपाईको प्रतिक्रिया दिनुहोस