जेनजी आन्दोलनको सिकारमा राष्ट्र बैंक गभर्नर पौडेलको घर

जेनजी आन्दोलनको निशानामा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेल पनि परेका छन्। आफूले छात्रवृत्ति बचत गरेर निर्माण गरेको घरमा आगजनी गरी आफूलाई ‘शरणार्थी’ बनाइएपछि उनले गहिरो दुःख प्रकट गरेका छन्।
आन्दोलन उग्र भए पनि मुख्यतः सरकारी कार्यालय तथा राजनीतिक दलका नेता–कार्यकर्तालाई लक्षित गरिएको थियो। तर सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति पनि तोडफोड र आगजनीबाट बच्न सकेनन् । सिंहदरबारदेखि नेताहरूका निवास र पार्टी कार्यालयहरू आक्रमणमा परे । सोही क्रममा गभर्नर पौडेलको घरसमेत ‘टार्गेट’ बन्यो।
गभर्नर पौडेलले आफ्नो घर जलेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्दै परिवार ‘शरणार्थी’ बन्न बाध्य भएको पीडा पोखेका छन्। उनले लेखेका छन्, “घरमा किताब र कपडा धेरै भएकाले ढिलोसम्म घर जलिरह्यो। राति पनि केही व्यक्तिहरू आएर ढुंगा हानेर सामान चोरी गरेको भनेर छिमेकीहरूले सुनाए।”
ललितपुरको भैँसेपाटीस्थित उक्त घर जल्दै गर्दा पौडेलले त्यससँग जोडिएका आफ्ना भावनाहरू पनि व्यक्त गरेका छन् । उनका अनुसार योजना आयोग उपाध्यक्ष हुनुअघि छात्रवृत्ति र देशविदेशमा गरेको कामबाट बचत गरी साढे पाँच आना जग्गामा घर बनाएका थिए । श्रीमती र ९ वर्षीया छोरीलाई मन परेकै कारण गभर्नर भएपछिपनि त्यही घरमै बस्दै आएका थिए ।

पौडेलका अनुसार घर बाहिर सानो भए पनि भित्र सुन्दर बनावट, माथिल्लो तलामा किताबको विशाल सङ्ग्रह, इबेबाट किनेका पुराना ऐतिहासिक सामग्री र विभिन्न देशबाट ल्याइएका कलाकृतिहरू सजाइएका थिए। देवी–देवताका मूर्तिदेखि भियतनामी सिल्क पेन्टिङ र माओत्सेतुङसम्मका मूर्तिहरू घरमै राखिएका थिए। जम्मा ५०० प्रतिमा मात्र प्रकाशित जंगबहादुरकी प्रेमिका लौरा बेलको जीवनी पुस्तक र छोरीलाई मन पर्ने विशेष कोठा पनि त्यसै घरमा थियो।
घरमा आगो लगाइएको खबर पहिलो पटक आएको दुई घण्टापछि मात्रै वास्तविकता पुष्टि भएको उनले बताएका छन् । सुरुमा केही नभएको देखिए पनि पछि मानिस भित्र पस्दै बाआमाको फोटो, छोरीको बाल्यकालीन फोटो लात्तीले कुल्चेर फुटाए र आगो लगाए । भावुक हुँदै उनले भने, “छोरीलाई राति नतर्सियोस् भनेर सुताउँदा च्यापेर दिने कपन गुम्बाका गुरु रिम्पोछेले दिएको मन्त्रेको खेलौना थियो, त्यो पनि कुल्चेर जलाइदिए।”
पौडेलका अनुसार उनकी श्रीमती र छोरी छिमेकीकहाँ गएर सुते भने उनी आफन्तकहाँ बास बस्न पुगे । “छोरीलाई सुताउनुपर्छ भनेर सधैं चाँडै घर आउने म र मेरो परिवार आज शरणार्थी भएका छौं,” उनले लेखेका छन् ।
आन्दोलनकारीले उनको भैँसेपाटीको घर मात्र नभई पिताले चितवनमा बनाएको घर पनि जलाइदिएको उनले दुःखेसो पोखे। धेरै साथीहरूले फोन गर्दा आफू ठिकै छु भन्ने जवाफ दिने गरेको भन्दै उनले भने, “नयाँ सरकार बन्दैछ । मैले कसैको दुई पैसा खाएको वा मागेको प्रमाण भए उजुरी गर्न सकिन्छ । यो गभर्नर पद पनि मैले कस्तो अवस्थामा लिएको थिएँ भन्ने सबैलाई थाहा छ ।”
तपाईको प्रतिक्रिया दिनुहोस