एक महिनापछि खुल्यो अरनिको राजमार्ग

पहिरोका कारण एक महिनादेखि पूर्ण अवरुद्ध अरनिको राजमार्गको ट्र्याक खुल्ला भएको छ। बाह्रबिसे–कोदारी खण्डका पाँच ठाउँमा खसेको पहिरो हटाएपछि चीनसँग जोडिने उत्तरी नाका तर्फको बाटो आइतबारदेखि सञ्चालनयोग्य बनेको हो।
सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख नारायणदत्त भण्डारीका अनुसार सोमबारबाट ग्राभेलको काम सुरु गरेर मात्र सवारीसाधन आवागमन गर्ने अनुमति दिइनेछ।
उनका अनुसार डाक्लाङ क्षेत्रमा तीन, घट्टेखोलामा एउटा र कोदारी खण्डमा एउटा गरी पाँच स्थानमा पहिरो खसेको थियो। पहिरो पन्छाउन तीन एस्काभेटर, तीन लोडर, १३ टिपर र ४० जना मजदुर खटाइएको थियो।
भदौ ८ गतेदेखि बाटो पूर्णरूपमा बन्द हुँदा स्थानीयको दैनिकीसँगै चीन–नेपाल व्यापार पनि प्रभावित भएको थियो। लगातार वर्षासँगै पहिरो बग्ने र जमिन चर्किँदा करिब दुई सय घरधुरी जोखिममा परेको थियो। स्थानीयको आग्रहअनुसार दीर्घकालीन समाधानको व्यवस्था नगरी पहिरो हटाउने काम रोकिएको थियो।
अन्तरिम चुनावी सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत रहेका कुलमान घिसिङको पहलमा असोज ३ गते तातोपानी भन्सारमा सर्वपक्षीय बैठक बसेको थियो। त्यस बैठकले स्थानीयको माग सम्बोधन गर्ने र दीर्घकालीन समाधानका लागि कात्तिक मसान्तसम्म ठेक्का प्रक्रिया सुरु गर्ने सहमति गरेको थियो। त्यसपछि सडक डिभिजनले सात दिनभित्र सडक खुलाउने लक्ष्यसहित कामलाई तीव्रता दिएको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस