देशभर यात्रुवाहक सवारीको रुट परमिट खुला, मालवाहक सवारीमा प्रतिबन्ध

सरकारले यात्रुवाहक सवारीसाधनका लागि आजदेखि देशभर रुट परमिट खुला गरेको छ। चाडपर्वमा यातायात व्यवस्थापन गर्न असोज २२ गते (पूर्णिमासम्म) लागू हुने गरी रुट परमिट खुला गरिएको यातायात व्यवस्था विभागले जनाएको छ।
त्यसैगरी, बुटवल–नारायणघाट सडक खण्डको दाउन्ने क्षेत्रमा दसैँ अवधिभर ठूला मालवाहक सवारी (१२ चक्के वा सोभन्दा माथि) सञ्चालन नगर्ने निर्णय भएको छ। तर, खाद्यान्न लगायत अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारीलाई भने निरन्तर सञ्चालन अनुमति दिइने विभागले जनाएको छ।
सडक अवरुद्ध भएपछि मुग्लिन–नारायणगढ सडक खण्डमा सवारी जाम बढेको छ। र आजदेखि देशभर रुट परमिट खुला भएका कारण यातायात व्यवसायी राष्ट्रिय महासंघले सबै निकायसँग सहजीकरण गर्न आग्रह गरेको छ।
महासंघका वरिष्ठ उपाध्यक्ष सारोज सिटौलाले भने, "सवारीसाधनहरूलाई यात्रुको चाप बढी हुने स्थानमा सबै निकायले सहजीकरण गरिदिनुपर्छ। काठमाडौँबाट बाहिरिने यात्रुवाहक सवारीमा जाम भइरहेको छ र समयमा गन्तव्यसम्म पुग्न नसक्ने समस्या देखिएको छ। अत्यावश्यक बाहेकका मालवाहक सवारी नपठाउने र यात्रुवाहक सवारीलाई प्राथमिकता दिने सहमति पूर्ण रूपमा कार्यान्वयन हुनुपर्छ।"
उनले नागढुङ्गा सुरुङमार्गमा यात्रुवाहक बसलाई काठमाडौँबाट एकतर्फी छुट दिने सहमति छिट्टै लागू गर्न समेत माग गरेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस