९ सूत्रीय माग राख्दै सीटीईभीटीका करार तथा ज्यालादारी कर्मचारी आन्दोलित
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) मा कार्यरत करार, मासिक तथा दैनिक ज्यालादारी कर्मचारीहरूले ९ सूत्रीय माग अघि सार्दै चरणबद्ध आन्दोलनको घोषणा गरेका छन्।
“करार, मासिक तथा दैनिक ज्यालादारी श्रमिक केन्द्रीय सङ्घर्ष समिति” ले बुधबार सीटीईभीटीका सदस्य-सचिव अनोज भट्टराईलाई मागपत्र बुझाउँदै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। प्रशासनिक पक्षले आफ्ना मागहरूप्रति निरन्तर उदासीनता देखाएकाले बाध्य भएर आन्दोलनमा उत्रनु परेको सङ्घर्ष समितिले जनाएको छ।
कर्मचारीहरूले योगदानमा आधारित सामाजिक सुरक्षा कोषको कार्यान्वयन, महँगी भत्ता उपलब्ध गराउनुपर्ने, उमेर हद नलाग्ने गरी विशेष प्रक्रियामार्फत स्थायी गरिनुपर्ने, निरन्तर रोजगारीको सुनिश्चितता र ‘समान कामका लागि समान ज्याला’ को संवैधानिक सिद्धान्त अनुसार सेवा-सुविधा पाउनुपर्ने मुख्य माग राखेका छन्।
यस्ता छन् घोषित आन्दोलनका कार्यक्रम:
साउन १४: दिउँसो ११ बजेदेखि ३ बजेसम्म ‘पेन डाउन’ (काम ठप्प) गर्ने।
साउन १५ देखि: प्रशासनिक तथा आर्थिक शाखाहरू पूर्ण रूपमा ठप्प पारी धर्ना दिने।
साउन २२ देखि: सम्पूर्ण शैक्षिक गतिविधि तथा परीक्षासम्बन्धी कामहरू रोक्ने।
साउन २५ देखि: सीटीईभीटीको केन्द्रीय कार्यालय घेराउ गरी अनिश्चितकालीन विरोध प्रदर्शन गर्ने।
मागहरू तत्काल सम्बोधन नगरिए आन्दोलन अझ कडा पारिने चेतावनी सङ्घर्ष समितिले दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस