छविलाल जोशीको खुलासा: 'सहकारीको रकम गोर्खा मिडियामा ल्याउने योजना रविको थियो'

सहकारी ठगी र संगठित अपराध अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सक्रिय हुँदै, सूर्यदर्शन सहकारी प्रकरणमा जोडिएको प्रमुख आरोपित पूर्व डीआईजी छविलाल जोशीलाई पक्राउ गरिएको छ। जोशीलाई काठमाडौंको शंखमूलबाट पक्राउ गरी कास्की ल्याइएपछि थप अनुसन्धानका लागि सीआईबीले इन्स्पेक्टर शिशिर थापा र सई रवि घिमिरेको टोली पोखरा पठाएको छ। जोशीमाथि संगठित अपराध र सहकारी ठगीमा संलग्न भएको आरोप लागेपछि उनलाई कास्की जिल्ला अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
सूर्यदर्शन सहकारीले बचतकर्ताहरूको ६५ करोड ५४ लाख रुपैयाँ गोर्खा मिडिया कम्पनीमा लगानी गरेको, र उक्त रकमको अपचलन भएको आरोप उठेको हो। संसदीय विशेष छानबिन समितिको प्रतिवेदनले गितेन्द्रबाबु (जीबी) राई, रवि लामिछाने, छविलाल जोशी र कुमार रम्तेललाई ठगीमा संलग्न देखाउँदै उनीहरूमाथि कारबाहीको सिफारिस गरेको थियो।
प्रतिवेदनले देखाएको विवरण अनुसार गोर्खा मिडियाका संचालकहरूले ग्लोबल आईएमई बैंकमा संयुक्त खाता खोली सूर्यदर्शन सहकारीबाट ठूलो रकम अपचलन गरेका थिए। सो रकम काठमाडौं, पोखरा, चितवन, वीरगञ्ज, र बुटवलका सहकारीबाट संकलन गरी गोर्खा मिडिया कम्पनीमा लगिएको थियो।
जोशीले प्रारम्भिक बयानमा आफू सहकारीसँग प्रारम्भिक चरणमा मात्र संलग्न भएको र छोटो समयमै बाहिरिएको दाबी गरेका छन्। उनका अनुसार सहकारीको रकम मिडियामा लगानी गर्ने योजना रवि लामिछाने र जीबी राईले बनाएको थियो।
रवि लामिछाने र सहकारी प्रकरण:
संसदीय छानबिन समितिको प्रतिवेदनले सहकारीका बचतकर्ताको पैसा रवि लामिछानेले सिधै प्रयोग गरेको प्रमाणित गरेको छ। लामिछानेले सहकारीको रकम मिडियामा लगानी गरेर ठूलो नाफा हुने प्रलोभन दिएका थिए। ग्यालेक्सी टेलिभिजनको उद्घाटनका दिन लामिछानेले भनेका थिए, "टीभी चलाउने लगानी कहाँबाट आयो भनेर सोध्ने काम नगर्नुहोस्, यो उद्यम व्यवसाय गरेर कमाएको पैसा हो।" तर, छानबिनले देखाएको छ कि उक्त रकम सहकारीबाट अपचलन गरी ल्याइएको थियो। सहकारीबाट मिडियामा लगानी गर्ने योजना लामिछानेकै रहेको र उनीसहित अन्य संचालकहरूले उक्त रकम खर्च गरेको प्रमाणित भएको छ।
कास्की प्रहरी र पोखरा महानगरपालिकाको छानबिनले सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरिएको पुष्टि गरिसकेको छ। पहिलो चरणको अनुसन्धानपछि कास्की जिल्ला सरकारी वकिल कार्यालयले २०८० असोज १८ मा सहकारीका संस्थापक अध्यक्ष राईसहित १९ जनाविरुद्ध १ अर्ब ११ करोड रुपैयाँ बिगो मागदाबीसहित ठगीको मुद्दा अदालतमा दायर गरेको थियो। यस मुद्दामा रवि लामिछाने र छविलाल जोशी अनुसन्धान दायराभन्दा बाहिर थिए।
तर, संसदीय समितिको प्रतिवेदन सार्वजनिक भएपछि कास्की प्रहरीले दोस्रो चरणको अनुसन्धान अघि बढाएको छ। प्रतिवेदन कार्यान्वयनका लागि असोज ६ मा संसद् सचिवालय, प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय हुँदै प्रहरी प्रधान कार्यालय पठाइएको थियो। त्यही दिन पूर्वडीआईजी जोशीलाई पक्राउ गरिएको थियो।
सीआईबी टोलीको सक्रियता:
कास्की प्रहरीको माग अनुसार सीआईबीले सहकारी ठगी प्रकरणमा थप अनुसन्धानका लागि इन्स्पेक्टर शिशिर थापा र सई रवि घिमिरेको टोली पोखरा खटाएको हो। सीआईबी प्रमुख एआईजी दीपक थापाका अनुसार ठगी र संगठित अपराधमा संलग्नको पहिचान र प्रमाण संकलनका लागि सीआईबी टोलीले गहिरो अनुसन्धान सुरु गरेको छ।
पीडित बचतकर्ताहरूले पनि सहकारीको बचत अपचलनमा तत्कालीन सञ्चालकहरूलाई कारबाहीको माग गर्दै दबाब दिएका छन्। यसैबीच, लामिछाने नेतृत्वको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लामिछानेलाई राजनीतिक रूपमा बचाउने प्रयास गरिरहेको देखिएको छ। रास्वपाले आफ्ना कार्यकर्तालाई लामिछानेको संलग्नता अस्वीकार गर्दै अन्धकारमा राख्न खोजेको आरोप लागिरहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस