पीडा बोकेका खुट्टा ओलीसम्म, बोहराले सुनाए कर्णालीका पीडा

कर्णालीको सुशासन, विकास, वातावरणीय सन्तुलन र पशु संरक्षणजस्ता विषय उठाउँदै सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौंसम्मको यात्रा गरेका अभियानकर्मी नवराज बोहराले आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।
बोहराले यो यात्रा गत जेठ ४ गते सुरु गरेका थिए र ३१ दिनपछि, असार ३ गते काठमाडौं आइपुगेका थिए। त्यसै दिन प्रधानमन्त्रीलाई भेट्न प्रयास गरे पनि कार्यव्यस्तताका कारण भेट आइतबार सम्भव भएको हो ।
भेटका क्रममा बोहराले आफ्नो अभियानका क्रममा देखेका समस्याहरू, उपचार नपाएका बालबालिकाको अवस्था तथा समाधानका लागि आफुले गरेका पहलहरूबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।
प्रधानमन्त्री ओलीले बोहराको अभियानको सराहना गर्दै पवित्र भावना र उद्देश्यसहित अघि बढ्न सुझाव दिए । साथसाथै, शरीरलाई अत्यधिक पीडा नदिई स्वास्थ्य र परिवारको पनि ख्याल गर्न आग्रह गरे ।
भेटपछि बोहराले प्रधानमन्त्रीसमक्ष आफ्ना कुराहरू राख्न पाएकोमा खुसी व्यक्त गरे । उनले पहिलो चरणको यात्रा सकिएको भन्दै अब जुत्ता लगाएर, दाह्री काटेर नयाँ रूपमै अभियानलाई अगाडि बढाउने बताए ।
तपाईको प्रतिक्रिया दिनुहोस