मध्यपहाडी लोकमार्ग श्रमदानबाट मर्मत

मध्यपहाडी लोकमार्गअन्तर्गत चखेवाभन्ज्याङ–बाँझेच्यानडाँडा (दस किलोमिटर) सडक खण्डलाई श्रमदानमार्फत मर्मत गरिएको छ। अविरल वर्षाले बिग्रिएर यातायात अवरुद्ध भएपछि शुक्रबार र शनिबार स्थानियबासी, जनप्रतिनिधि, र सुरक्षाकर्मीहरू समेतको सहयोगमा श्रमदानबाट सडक पुनः सञ्चालनमा ल्याइएको हो।
जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईका अनुसार, प्रतिनिधिसभा सदस्य रामकुमार राईको नेतृत्वमा उक्त क्षेत्रको बिग्रिएको सडकमा ग्राबेल बिच्छ्याएर यातायातका लागि उपयुक्त बनाइएको छ। पहिरो र हिलोका कारण आवागमन असम्भव भएपछि दुई दिनको मेहनतले सडकलाई चलायमान बनाइएको हो।
वैकल्पिक सडक निर्माण
राईका अनुसार, केही ठाउँमा मर्मत सम्भव नभएको हुँदा वैकल्पिक सडक खनिएको छ। यस कार्यमा जिल्लाका सरकारी कार्यालय, स्थानीय व्यवसायीहरू, साकेला गाउँपालिका, र मध्यपहाडी लोकमार्गका विभिन्न निकायले तेल, सवारी साधन, र उपकरणहरू उपलब्ध गराएका थिए। मर्मत कार्यका लागि ६ सय लिटर तेल खर्च भएको छ।
श्रमदानमा जनप्रतिनिधि, राजनीतिक दलका सदस्यहरू, सुरक्षाकर्मी, सरकारी कर्मचारी, र स्थानीय समुदायको व्यापक सहभागिता रहेको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस