Techie IT
२०८२ मंसिर २४, बुधबार

NPLSeason2

मैदानमा तुफान मच्चाउँदै फाइनलमा पुग्ने पहिलो टोली बन्यो सुदुरपश्चिम रोयल्स

सुदूरपश्चिमका लागि अर्धशतक बनाएका विनोद भण्डारी एनपीएलमा सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो स्थानमा उक्लिएका छन्।


सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो पटक सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा स्थान सुरक्षित गरेको छ। मंगलबार भएको पहिलो क्वालिफायरमा विराटनगर किंग्समाथि सुदूरपश्चिमले एकपक्षीय जीत हासिल गर्दै उपाधि नजिक पुगेको हो।

साविक उपविजेता सुदूरपश्चिमले पहिलो संस्करणमा पनि पहिलो फाइनलिस्ट बनेको थियो र दोस्रो संस्करणमा पनि फाइनल पुग्ने पहिलो टोली बनेको छ। यससँगै, लिग चरणको अन्तिम खेलमा विराटनगरसँग भोगेको हारको ‘बदला’ समेत लिएको छ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको थियो। ओपनर विनोद भण्डारीले सर्वाधिक ६३ रन बनाएका थिए । यो विनोदको दोस्रो एनपीएल अर्धशतक हो।

सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याएको विराटनगर किंग्स १४.१ ओभरमा ७८ रनमा अलआउट भयो। विराटनगरको इनिङ्स सुदूरपश्चिमको कडा बलिङ र उत्कृष्ट फिल्डिङसँगै ध्वस्त भयो।

विराटनगरका लागि ओपनर फाफ डु प्लेसीले ३६ रन बनाउँदै सर्वाधिक योगदान दिए। मर्चेन्ट डे लाङले १५ र बसिर अहमदले १२ रन जोडेका थिए । बाँकी खेलाडीले सम्झनलायक ब्याटिङ गर्न सकेनन्।

सुदूरपश्चिमका बलर स्कट कुगेलेइन, हर्मीत सिंह र अविनाश बोहराले २-२ विकेट लिए भने हेमन्त धामी र कप्तान दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिएका छन् । दुई खेलाडी रनआउट भए।

इनिङ्सको प्रारम्भमा सुदूरपश्चिमले लगातार विकेट लिएर विराटनगरलाई दबाबमा पार्‍यो। पहिलो ओभरमै स्कट कुगेलेइनले साम हिजलेटलाई आउट गरेका थिए । त्यसै ओभरमा मार्टिन गप्टिल रनआउट भए। दोस्रो ओभरमै हर्मीत सिंहले नरेन भट्टलाई आउट गर्दा विराटनगर ३-३ मा पुगेको थियो।

फाफ डु प्लेसी र बसिर अहमदले चौथो विकेटका लागि ३९ रनको साझेदारी गरे, तर बसिर आउट भएपछि विराटनगरको इनिङ्स अझ दबाबमा पर्‍यो। त्यसपछि लोकेश बलम ५ रनमा आउट भए, नारायण जोशी हर्मीत सिंहले बोल्ड गरे। अन्तिम विकेटको रुपमा कप्तान सन्दीप लामिछाने आउट भएपछि विराटनगर ७८ रनमा अलआउट भयो।

सुदूरपश्चिमका लागि अर्धशतक बनाएका विनोद भण्डारी एनपीएलमा सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो स्थानमा उक्लिएका छन्। आठ खेलमा उनले २६४ रन बनाएका छन्, जबकि पोखरा एभेन्जर्सका एडम रोसिङटनले सात खेलमा ३२३ रन बनाएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट