Techie IT
२०८३ असार २०, शनिबार

केप भर्डेलाई पन्छाउँदै अर्जेन्टिना प्रि-क्वाटरफाइनलमा, अब इजिप्टसँग भिड्ने

रोमेरोले गरेको कडा हेडिङ प्रहार केप भर्डेका डिफेन्डर डिनेलाई लाग्दै आत्मघाती गोलमा परिणत भयो


साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को अन्तिम १६ (प्रि-क्वाटरफाइनल) मा प्रवेश गरेको छ। शनिबार बिहान मियामी स्टेडियममा भएको अत्यन्तै रोमाञ्चक, तनावपूर्ण र प्रतिश्पर्धात्मक 'राउन्ड अफ ३२' को खेलमा पहिलोपटक विश्वकप खेलिरहेको केप भर्डेलाई ३–२ गोल अन्तरले स्तब्ध पार्दै अर्जेन्टिनाले नकआउट चरणको यात्रा तय गरेको हो।

निर्धारित ९० मिनेटको समय १–१ को बराबरीमा सकिएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको थियो, जहाँ थप ३ गोल भए।

खेलको २९औँ मिनेटमा कप्तान लियोनल मेसीको उत्कृष्ट गोलमार्फत अर्जेन्टिनाले सुरुवाती अग्रता लिएको थियो। पहिलो हाफमा १-० ले अघि रहेको अर्जेन्टिनाविरुद्ध दोस्रो हाफमा केप भर्डेले उत्कृष्ट पुनरागमन गर्‍यो। खेलको ५९औँ मिनेटमा डेरोय डुआर्टेले सानदार गोल गर्दै केप भर्डेलाई १–१ को बराबरीमा ल्याए। त्यसपछि ९० मिनेटसम्म दुवै टोलीबाट थप गोल हुन सकेन।

अतिरिक्त समयको सुरुआतमै अर्थात् ९२औँ मिनेटमा डिफेन्डर लिसान्ड्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई २–१ को अग्रता दिलाएका थिए । तर, विश्व विजेतालाई 'आच्छुआच्छु' पारेको केप भर्डेले सहजै हार मानेन। १०३औँ मिनेटमा सिड्नी लोपेज काब्रालले सानदार गोल गर्दै खेललाई पुनः २–२ को सनसनीपूर्ण स्थितिमा पुर्‍याए।

निर्णायक आत्मघाती गोल
अतिरिक्त समयको दोस्रो हाफमा खेलको १११औँ मिनेटमा अर्जेन्टिनाले भाग्यको साथ पायो। लियोनल मेसीले प्रहार गरेको कर्नर बलमा क्रिस्टियन रोमेरोले गरेको कडा हेडिङ प्रहार केप भर्डेका डिफेन्डर डिनेलाई लाग्दै आत्मघाती गोलमा परिणत भयो। त्यही उपहार गोल नै अर्जेन्टिनाका लागि जितको निर्णायक कडी बन्यो।

पहिलो सहभागितामै विश्व विजेता अर्जेन्टिनालाई बलियो टक्कर दिएर केप भर्डे बाहिरिएको छ भने साविक विजेता अर्जेन्टिनाले अब अन्तिम १६ मा अर्को बलियो टोली इजिप्टको सामना गर्नेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट