Techie IT
२०८३ असार २४, बुधबार

विश्वकपमा मेसीको महाकीर्तिमान: म्याराडोनाको रेकर्ड ब्रेक र गोल्डेन बुटमा अग्रता


जारी फिफा विश्वकप २०२६ को प्रिक्वाटरफाइनलमा इजिप्टविरुद्ध ३–२ को रोमाञ्चक पुनरागमन जित निकाल्दै साविक विजेता अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको छ। एटलान्टामा भएको उक्त खेल अर्जेन्टिनी कप्तान लियोनल मेसीका लागि खराब रेकर्ड र ऐतिहासिक कीर्तिमानहरूको एउटा यादगार संयोग बन्यो।

पेनाल्टी मिसको खराब रेकर्ड
खेलको पहिलो हाफमा अर्जेन्टिना १–० ले पछि परेको अवस्थामा मेसीले खेललाई बराबरीमा ल्याउने सुनौलो अवसर गुमाएका थिए। टालियाफिकोलाई पेनाल्टी क्षेत्रमा लडाएपछि पाएको पेनाल्टी प्रहारलाई इजिप्टका गोलकिपर मोस्तफा शोबेरले उत्कृष्ट डाइभ हान्दै रोकिदिए।

यो असफल प्रहारसँगै मेसीको नाममा विश्वकप इतिहासकै एउटा खराब रेकर्ड दर्ता भएको छ। उनी विश्वकपमा सबैभन्दा बढी पेनाल्टी मिस गर्ने खेलाडी बनेका छन्। उनले अहिलेसम्म प्रहार गरेका ८ पेनाल्टीमध्ये ४ वटा मात्र गोलमा परिणत भएका छन् भने ४ पेनाल्टी असफल भएका छन्। साथै, एउटै विश्वकप संस्करणमा दुई पेनाल्टी गुमाउने उनी पहिलो खेलाडी समेत बनेका छन् (यसअघि उनले समूह चरणमा अस्ट्रियाविरुद्ध पेनाल्टी चुकाएका थिए)।

कीर्तिमानै कीर्तिमान: म्याराडोनाको रेकर्ड ब्रेक
खराब रेकर्डका बावजुद मेसीले सोही खेलमा आफ्ना जादुमयी प्रदर्शनले विश्वकपका कयौँ ऐतिहासिक कीर्तिमानहरू आफ्नो नाममा लेखाए।

सर्वाधिक असिस्टको कीर्तिमान: इजिप्टविरुद्धको खेलमा असिस्ट गरेसँगै मेसी फिफा विश्वकपमा सर्वाधिक ९ असिस्ट गर्ने खेलाडी बनेका छन्। उनले अर्जेन्टिनाका लिजेन्ड डिएगो म्याराडोनाको (८ असिस्ट) कीर्तिमानलाई भंग गरेका हुन्।

६ फरक विश्वकपमा असिस्ट: सन् २००६ मा विश्वकप डेब्यु गरेका मेसीले लगातार ६ वटा विश्वकप खेल्दै सबै संस्करणमा असिस्ट गर्ने पहिलो र एकमात्र खेलाडीको कीर्तिमान बनाएका छन्। मेसी र क्रिस्टियानो रोनाल्डो मात्र ६ वटा विश्वकप खेल्ने खेलाडी हुन्।

लगातार ९ खेलमा गोल: खेलमा एक गोल गरेका मेसी विश्वकपका लगातार ९ खेलमा गोल गर्ने विश्वकै एकमात्र खेलाडी बनेका छन्। जारी विश्वकपका सबै ५ खेलमा उनले गोल गरेका छन्।

गोल्डेन बुटको दौडमा शीर्ष स्थान: यस खेलको गोलसँगै मेसीले जारी विश्वकपमा आफ्नो गोल संख्या ८ पुर्‍याउँदै गोल्डेन बुटको दौडमा पुनः शीर्ष स्थान बनाएका छन्। उनले फ्रान्सका किलियन एमबाप्पे र नर्वेका एर्लिङ हालान्ड (समान ७ गोल) लाई पछि पारेका हुन्।

दुई फरक विश्वकपमा ७+ गोल: मेसी दुई फरक विश्वकप संस्करणमा ७ वा सोभन्दा बढी गोल गर्ने विश्वकै पहिलो खेलाडी बनेका छन्। यसअघि २०२२ को कतार विश्वकपमा उनले ७ गोल गरेका थिए।

क्लोजको कीर्तिमान बराबरी, अब नयाँ इतिहासको पालो
इजिप्टविरुद्धको खेल मेसीको विश्वकप इतिहासकै ३१औँ खेल थियो । यो खेल विश्वकपमा सर्वाधिक खेल खेल्ने रेकर्ड हो। (दोस्रो स्थानमा रहेका रोनाल्डोले २६ खेल खेलेका छन्)।

यस खेलको गोलसँगै मेसीले विश्वकपको नकआउट चरणमा सर्वाधिक १४ गोल गर्ने जर्मनीका मिरोस्लाभ क्लोजको कीर्तिमान बराबरी गरेका छन्। अर्जेन्टिना क्वाटरफाइनलमा पुगिसकेको हुनाले आगामी शनिबार कोलम्बिया वा स्विट्जरल्यान्डविरुद्ध हुने खेलमा मेसीसँग यो कीर्तिमान पनि एक्लै आफ्नो नाममा बनाउने सुनौलो मौका छ।

यसअघि नै विश्वकपमा सबैभन्दा पाका उमेरमा ह्याट्रिक गर्ने, समूह चरणदेखि फाइनलसम्मका सबै चरणमा गोल गर्ने, किशोर अवस्था (Teens), २० को दशक (Twenties) र ३० को दशक (Thirties) मा गोल गर्ने तथा विश्वकपमा सर्वाधिक मिनेट खेल्ने जस्ता एक दर्जनभन्दा बढी कीर्तिमान मेसीले आफ्नो नाममा सुरक्षित गरिसकेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट