Techie IT
२०८३ असार ३१, बुधबार

फ्रान्सको सपना चकनाचुर: विश्वकपको फाइनलमा स्पेनको ऐतिहासिक 'इन्ट्री'


विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा सनसनीपूर्ण नतिजा निस्किएको छ। उपाधिको बलियो दाबेदार मानिएको फ्रान्सलाई २–० गोल अन्तरले स्तब्ध पार्दै युरोपेली च्याम्पियन स्पेन १६ वर्षपछि विश्वकपको फाइनलमा प्रवेश गरेको छ।

अमेरिकाको टेक्सासस्थित स्टेडियममा भएको रोमाञ्चक भिडन्तमा स्पेनले उत्कृष्ट सामूहिक खेल प्रदर्शन गर्दै फ्रान्सको लगातार तेस्रो पटक फाइनल पुग्ने र तेस्रो पटक उपाधि जित्ने सपनालाई समाप्त पारिदिएको हो। सन् २०१० को विश्वविजेता स्पेन त्यसयता पहिलो पटक फाइनलमा पुगेको हो।

खेलको सुरुवाती समयमा किलियान एम्बाप्पेको काउन्टर अट्याकमार्फत फ्रान्सले केही दबाब बनाए पनि स्पेनका युवा स्टार लामिन यामल चम्किएपछि खेलको समीकरण बदलियो। आफ्नो १९ औं जन्मदिनको भोलिपल्टै मैदान उत्रिएका यामललाई फ्रान्सका लेफ्ट-ब्याक लुकास डिनले बक्सभित्र लडाएपछि साल्भाडोरका रेफ्री इभान बार्टनले स्पेनलाई पेनाल्टी दिएका थिए।

पेनाल्टी बचाउन माहिर मानिएका फ्रान्सेली गोलकिपर माइक मेग्ननलाई छक्काउँदै मिकेल ओयार्जाबलले २२औं मिनेटमा सहजै गोल गरे। जारी विश्वकपमा फ्रान्स पछि परेको यो पहिलो पटक थियो। गोल खाए लगत्तै फ्रान्सलाई अर्को ठूलो धक्का लाग्यो, उसका भरपर्दा सेन्टर-ब्याक विलियम सलिबाको पुरानो ढाडको चोट बल्झिएपछि उनी मैदान छाड्न बाध्य भए। उनको ठाउँमा म्याक्सेन्स लाक्रोआ मैदान प्रवेश गरेका थिए।

पहिलो हाफभरि लक्ष्यमा एउटै पनि प्रहार गर्न नसकेको फ्रान्सलाई दोस्रो हाफमा फर्कन प्रशिक्षक डिडिएर डेसच्याम्प्सले रणनीतिक परिवर्तन गरे। उनले ब्राड्ली बार्कोलाको स्थानमा डिजिरे डुएलाई मैदान पठाए। तर, फ्रान्स सम्हालिन नपाउँदै खेलको ५८ औं मिनेटमा स्पेनले अग्रता दोब्बर बनायो।

डिफेन्डर पेड्रो पोरोले डानी ओल्मोसँग उत्कृष्ट 'वान-टु-वान' पास खेल्दै फ्रान्सेली रक्षापंक्तिलाई ध्वस्त पारे र ओल्मोबाट फिर्ता आएको बललाई नियन्त्रणमा लिँदै पोस्टको तल्लो कुनामा सानदार गोल गरे।

स्पेनको चट्टानी डिफेन्स
२–० ले पछि परेपछि फ्रान्सले रायन चेर्की लगायतका स्टार खेलाडीलाई मैदान छिराएर आक्रामक रणनीति अपनाएको थियो। तर, बल पोजिसनदेखि फिनिसिङसम्म फ्रान्स पूर्ण रूपमा निरिह देखियो। खेलभरि फ्रान्सले मात्र दुई वटा 'सट अन टार्गेट' राख्न सक्यो।

स्पेनका गोलकिपर उनाई सिमोनले चनाखो हुँदै 'स्वीपर किपर'को भूमिका निभाए भने डिफेन्डर मार्क कुकुरेलाले फ्रान्सेली कप्तान एम्बाप्पेविरुद्ध उत्कृष्ट ट्याकल गर्दै फ्रान्सको हरेक आक्रमणलाई असफल तुल्याइदिए।

यो ऐतिहासिक जितसँगै स्पेन फाइनलमा पुग्ने पहिलो टोली बनेको छ। अब स्पेनले उपाधिका लागि अर्जेन्टिना र इंग्ल्यान्डबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट