बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ: मुख्यमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का सुरु हुने तर वर्षौँसम्म सम्पन्न नहुने प्रवृत्तिको अब अन्त्य गरिने दृढता व्यक्त गरेका छन्। सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले क्रमागत तथा बहुवर्षीय ठेक्काहरूलाई आवश्यकता र प्राथमिकताका आधारमा मात्र अगाडि बढाइने स्पष्ट पारे।
प्रदेशका कतिपय सडक आयोजना ठेक्का लागेर पनि लामो समयदेखि अलपत्र अवस्थामा रहेकोप्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री भट्टले आयोजना कार्यान्वयनपूर्व आवश्यक साइट क्लियरेन्स', सुरक्षा तथा अन्य व्यवस्थापनका कामहरू अनिवार्य रूपमा सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए । यस्ता आधारभूत समस्या हल भएमात्रै निर्माण कार्यले वास्तविक गति लिने उनको भनाइ थियो।
निर्माण क्षेत्रसँग सम्बन्धित नीतिगत तथा कानुनी समस्याहरू समाधान गर्ने राज्यको मुख्य दायित्व भएको बताउँदै मुख्यमन्त्री भट्टले निर्माण व्यवसायीहरूले पनि सम्झौताअनुसारका कामहरू तोकिएको समयमै सम्पन्न गर्न तदारुकता देखाउनुपर्ने धारणा राखेका थिए।
लामो समयदेखि अड्किएर रहेका सडक तथा अन्य पूर्वाधार आयोजनालाई द्रुत गतिमा अघि बढाउने संकल्प प्रदेश सरकारले गरिसकेको उल्लेख गर्दै उनले अबका निर्माण कार्यहरू निश्चित गति र ठोस परिणाममुखी हुनुपर्नेमा जोड दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस