Techie IT
२०८२ श्रावण ५, सोमबार

समृद्धिको बिउ माटोमै छ: अब युवा जाग्नुपर्छ


नेपाल—हिमाल, पहाड र तराईको अनुपम संगम हो । यहाँको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र मेहनती जनशक्तिको सन्देश विश्वभर फैलिएको छ । तर, प्रचुर सम्भावना सम्पदाबीच पनि हाम्रो देश आजसम्म आर्थिक, सामाजिक र पूर्वाधार विकासका सूचकांकहरूमा पछाडि छ । नेपाल पछाडि पर्नु क्रम स्वाभाविक थिएन र छैन । योजनाको अभाव, नीतिको स्थायित्व नहुनु र व्यवस्थागत कमजोरीले जन्माएको परिणाम नै देश विकासको बाधक जस्तो बनेको छ ।

नेपालको लगभग ६० प्रतिशत जनसंख्या अझै पनि कृषि पेशामा आवद्ध छ । तर विडम्बना—हजारौं हेक्टर जमिन बाँझो छ, खाद्य उत्पादन न्यून छ, र हामी सालाना अर्बौं रुपैयाँ बराबरको खाद्यान्न आयात गरिरहेका छौं । अर्को दुःखद तस्बिर, लाखौं युवाहरू विदेशी भूमिमा श्रम बेच्न बाध्य छन् । यही युवाशक्तिको यदि आफ्नै माटोमा श्रमपसिना पोखिएको भए आज उत्पादनको रूपान्तरण, आर्थिक आत्मनिर्भरता र सामाजिक स्थायित्वका मुख्य आधार बन्न सक्थे ।

नेपालको समृद्धिको मूल सूत्र कृषिको आधुनिक व्यवसायीकरण र युवा उद्यमशीलताको उत्थानमा छ । उत्पादन र नवप्रवर्तन सँगसँगै अघि बढेमा मात्र हामीले आर्थिक आत्मनिर्भरता, रोजगारी सृजना र स्थानीय विकासलाई सुनिश्चित गर्न सक्छौं ।

हालको अवस्थामा नेपालमा प्रति व्यक्ति आय अझै करिब $1,471 मात्र छ र बेरोजगारी दर ११ प्रतिशत नाघेको छ (राष्ट्रिय योजना आयोग, २०२३) । हाम्रो  विकासेमोडल नै राजधानी र शहरहरुमा सीमित रहँदा गाउँको युवाको उर्जा र सीप खेर जाने स्थितिमा छ । असमानता बढ्दो छ । अवसरको असमानताले पनि आज गाउँघर रित्तिदो अवस्थामा छन् । उर्वरजमिन बाझो अवस्थामा छ । 

युवाहरू उद्यम गर्न चाहन्छन्, तर तिनका लागि पूँजी छैन, मार्गदर्शन छैन, न नीति स्पष्ट छन् । सरकारी कार्यक्रमहरू छन्—Startup Nepal, National Youth Council, Rural Enterprise Programme—तर यी कार्यक्रमहरू कागजमै सीमित भएका छन्, प्रभाव पनि चुहावट जस्तै सिमित भएको छ।

'केही गर्छु' भन्ने इच्छाशक्ति भएका युवाहरूलाई बैंकले ऋण नदिने, सरकारको प्रक्रिया जटिल हुनेजस्ता चुनौतीहरूले आज युवाहरु दिक्क भैसकेका छन् । टेक्नोलोजी र नवप्रवर्तनको युगमा, जब युवा स्मार्ट कृषि गर्न चाहन्छन्—बायोफ्लक, स्मार्ट एप्स, ड्रिप इरिगेसनजस्ता विधि अपनाउन चाहन्छन्—त्यति बेला तिनै युवालाई नीतिगत, सामाजिक र आर्थिक अवरोध झेल्नुपर्ने अहिलेको अवस्था छ ।

सम्भावनालाई योजनामा बदल्ने उपायहरू

नीति सुधार: प्रत्येक स्थानीय तहमा Youth Agribusiness Incubation Centre स्थापना गरिनुपर्छ।

सहुलियत ऋण: डिजिटल प्रक्रियामार्फत कृषि र स्टार्टअपमा लगानी गर्न चाहनेलाई ऋण सहज रूपमा उपलब्ध गराइनुपर्छ।

व्यवसायिक शिक्षा: विद्यालय तहदेखि नै उद्यमशीलता र वित्तीय शिक्षा पढाइनुपर्छ।

बजार पहुँच र ब्राण्डिङ: उत्पादन मात्र होइन, ब्राण्ड, प्याकेजिङ र डिजिटल मार्केटिङमा समेत तालिम र सहयोग आवश्यक छ।

ICT को पहुँच: प्रविधिमैत्री कृषि समाधान गाउँगाउँमा विस्तार हुनुपर्छ।

सामूहिक खेतीको प्रवर्द्धन: युवाहरूबीच सहकार्यको भावना जागृत गराउँदै सामूहिक खेतीलाई प्रोत्साहन दिनुपर्छ।

कृषि हाएरिङ सेन्टर: मेसिनरी र उपकरण सबै पहुँचमा ल्याउनका लागि केन्द्र स्थापना गर्न आवश्यक छ।

अब हामी युवालाई रोजगारी खोज्ने हैन, रोजगारी दिने बनाउने बाटोमा अगाडि बढाउने खालको सरकारले नीति ल्याउनुपर्ने आवश्यक छ । अहिलेको समयमा चाहिएको केवल सकारात्मक सोच, स्पष्ट नीति, प्रभावकारी कार्यक्रम र निरन्तर समर्थन हो ।

जब युवाले माटो जोत्न थाल्छ, तब देशले समृद्धिको गन्ध पाउँछ। अबको कृषि केवल गोरु र हलोको गफमा सीमित रहनु हुँदैन । यो अब ज्ञान, प्रविधि, यन्त्र र नवप्रवर्तनले भरिएको उद्यमका रुपमा विकास गर्नुपर्छ । 

नेपालको समृद्धिको बिउ यही माटोमा छ—बस यत्रा सुरु गर्न नेतृत्व, लगाव र युवाको साथ चाहिन्छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट