Techie IT
२०८२ मंसिर २१, आइतबार

म्यानमारमा हवाई आक्रमणबाट १८ जनाको मृत्यु


मध्य म्यानमारको एक सहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ। एएफपीसँग कुरा गरेका स्थानीय सरकारी अधिकारी, उद्धारकर्ता तथा बासिन्दाले घटनाबारे पुष्टि गरेका हुन्।

सन् २०२१ मा सेनाले ‘कु’ मार्फत सत्ता कब्जा गरेपछि म्यानमार निरन्तर गृहयुद्धको चपेटामा छ । ‘कु’–विरोधी लडाकु समूहहरूसँगको भिडन्तका क्रममा सरकारी सेना बारम्बार हवाई आक्रमण गरिरहेको छ । युद्धले सर्वसाधारणको मृत्यु हुने घटना दोहोरिरहेका छन् ।

सागाइङ क्षेत्रको तबाइन नगरमा शुक्रबार साँझ दुईवटा बम खसालिएको स्थानीय प्रशासनिक अधिकारीले बताएका छन् । जसमध्ये एउटा भिडभाड भएको चिया पसलमा लाग्दा ठूलो जनधनको क्षति भएको हो। “आक्रमणमा १८ जनाको मृत्यु भएको छ र २० जना घाइते भएका छन्,” अधिकारीले एएफपीसँग भने, “चिया पसलमा भीड धेरै भएकाले मृत्यु संख्या बढ्यो।”

आक्रमण भएको १५ मिनेटपछि घटनास्थलमा पुगेका एक उद्धारकर्ताले सात जनाको घटनास्थलमै र ११ जनाको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए। चिया पसल र वरपरका करिब एक दर्जन घरहरू क्षतिग्रस्त भएको पनि उनले बताए। म्यानमारमा चिया पसललाई परम्परागत सामाजिक भेटघाट स्थलका रूपमा मानिन्छ।

आक्रमणका बखत चिया पसलमै रहेका एक व्यक्तिले भने आफू टेलिभिजनमा बक्सिङ खेल हेर्दै गरेको बेला बम खसेको बताएका छन् । “माथिबाट जहाजको आवाज सुनेपछि म भुइँमा लडेँ। केहीबेरमै ठुलो आगोको लप्को देखेँ र कान नै बहिरो पार्ने आवाज आयो,” उनले भने। 

यस विषयमा म्यानमारको जुन्टा सरकारका प्रवक्तासँग कुरा गर्ने एएफपीको प्रयास सफल हुन नसकेको एजेन्सीका संवाददाताले जनाएका छन्।

स्थानीय बासिन्दाले भने, ‘विनाशकारी भूकम्पपछि घोषणा गरिएको युद्धविराम’को बाबजुद सागाइङ क्षेत्रमा सरकारी सेनाको हवाई आक्रमण जारी रहेको टिप्पणी गरेका छन्। उनका अनुसार मे महिनामा सोही क्षेत्रमा भएको हवाई हमलामा २० बालबालिकासहित २२ जनाको मृत्यु भएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट