गोवाको नाइट क्लबमा भीषण आगलागी, २३ जनाको मृत्यु
भारतको तटीय राज्य गोवास्थित एक चर्चित नाइट क्लबमा आगलागी हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ।
गोवाको उत्तरी भाग आरपोरामा रहेको ‘बर्च बाई रोमियो लेन’ नामक क्लबमा शनिबार मध्यराततिर ग्यास सिलिन्डर विस्फोट भएपछि आगो लागेको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डिया र द इन्डियन एक्सप्रेसले जनाएको छ।
समाचारअनुसार आगलागीमा परेर क्लबका अधिकांश कर्मचारीको मृत्यु भएको छ। मृतकमध्ये केही पर्यटकहरू पनि रहेको अधिकारीहरूले अनुमान गरेका छन्। मृतकहरूको पहिचान भने अहिलेसम्म पूर्ण रूपमा खुलाइएको छैन।
गोवाका प्रहरी महानिर्देशक श्री आलोक कुमारका अनुसार आगो भुइँतल्लाको भान्साबाट सुरु भएको थियो। “अधिकांश शवहरू भान्सा वरपर फेला परेका छन्, जसले धेरै पीडितहरू क्लबका कर्मचारी भएको संकेत गर्छ,” उनले भने। आगो अहिले पूर्ण रूपमा नियन्त्रणमा लिइएको छ।
मुख्यमन्त्री प्रमोद सावन्त ले घटनास्थलको अवलोकन गर्दै पत्रकारहरूसँग भने, “तीन जनाको आगो लागेर र अरूको निसास्सिएर मृत्यु भएको छ।” उनका अनुसार ‘तीन वा चार’ पर्यटकको पनि ज्यान गएको छ, तर उनीहरूको उमेर र राष्ट्रियता खुल्न बाँकी छ।
आगलागीको ठ्याक्कै कारण पत्ता लगाउन औपचारिक अनुसन्धान सुरु गरिएको छ। लापरबाही देखिएका व्यक्तिमाथि कडा कारबाही गरिने मुख्यमन्त्री सावन्तले बताएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस