Techie IT
२०८२ मंसिर २७, शनिबार

कोलकातामा मेसीको भव्य स्वागत, कमजोर व्यवस्थापनले कार्यक्रममा भयो हंगामा

घटनापछि पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले मेसी र प्रशंसकहरूसँग माफी मागेकी छन् ।


विश्व फुटबलका महान् खेलाडी लियोनेल मेसीको बहुप्रतीक्षित ‘जीओएटी टुर २०२५’ भारतबाट सुरु भएको छ। अर्जेन्टिनाका विश्वकप विजेता कप्तान मेसी इन्टर मियामीका सहखेलाडी लुइस सुआरेज र रोड्रिगो डि पाउलसँगै कोलकाता पुगेका हुन्। तीन दिने भारत भ्रमणको पहिलो चरण कोलकाताबाट सुरु भएको हो।

मध्यरातपछि नेताजी सुभाषचन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका मेसीलाई हजारौँ प्रशंसकले भव्य स्वागत गरे। विमानस्थलदेखि होटलसम्म मेसी–मेसीको नारा गुन्जिएको थियो। यो मेसीको १४ वर्षपछिको भारत भ्रमण हो। यसअघि सन् २०११ मा उनले कोलकाताकै साल्ट लेक स्टेडियममा अर्जेन्टिना र भेनेजुएलाबीचको मैत्रीपूर्ण खेल खेलेका थिए।

भ्रमणको पहिलो दिन मेसीको तालिका निकै व्यस्त रह्यो। बिहान प्रायोजित कार्यक्रममा सहभागी भएपछि उनले लेक्न टाउनमा निर्माण गरिएको ७० फिट अग्लो आफ्नै प्रतिमा भर्चुअल रूपमा अनावरण गरे। श्रीभूमि स्पोर्टिङ क्लबद्वारा निर्माण गरिएको उक्त कार्यक्रममा बलिउड अभिनेता शाहरुख खानको समेत उपस्थिति थियो। त्यसपछि मेसी साल्ट लेक स्टेडियम पुगे, जहाँ पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी, पूर्व क्रिकेटर सौरभ गांगुली र शाहरुख खानलगायतका विशिष्ट व्यक्तिहरूले उनलाई स्वागत गर्ने कार्यक्रम तय गरिएको थियो।

स्टेडियममा फेलिसिटेसन, युवा खेलाडीहरूसँग अन्तरक्रिया तथा प्रदर्शनी खेल आयोजना गरिएको भए पनि कार्यक्रम अस्तव्यवस्थाका कारण अराजकतामा परिणत भयो। मेसी स्टेडियम प्रवेश गर्दा अत्यधिक भीडका कारण उनलाई सुरक्षाकर्मी र भिआइपीहरूले घेरेका थिए, जसले गर्दा दर्शकहरूले उनलाई स्पष्ट रूपमा देख्न पाएनन्।

मेसीले छोटो समयका लागि ल्याप अफ अनर गरे पनि सुरक्षा कारण देखाउँदै कार्यक्रम संक्षिप्त पारियो र उनी १०–२० मिनेटमै स्टेडियमबाट बाहिरिए। यसले प्रशंसकहरू आक्रोशित बनायो । ४ हजारदेखि १८ हजार भारूसम्मका महँगा टिकट किनेका दर्शकहरूले मेसीलाई राम्रोसँग देख्न नपाएको भन्दै असन्तुष्टि मात्र जनाएनन् उनिहरुले प्लास्टिकका बोतल, कुर्सी, ब्यानर र पोस्टर तोडफोड गर्दा स्टेडियममा हुलदंगा मच्चिएका थिए ।

प्रशंसकहरूले आयोजकको कमजोर व्यवस्थापनप्रति आक्रोश पोखेका छन्। एक प्रशंसकले भने, “१२ हजारको टिकट किन्यौं, तर मेसीको अनुहारसमेत देख्न पाएनौँ। सेलिब्रेटीहरूले घेरेर राखे।”

घटनापछि पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले मेसी र प्रशंसकहरूसँग माफी मागेकी छन् । सामाजिक सञ्जालमार्फत उनले साल्ट लेक स्टेडियममा भएको अव्यवस्थाप्रति दुःख व्यक्त गर्दै आयोजकको कमजोरी रहेको बताएकी छन् । उनले घटनाको छानबिनको माग समेत गरेकी छन्। राज्यका गभर्नर सीभी आनन्द बोसले पनि विस्तृत प्रतिवेदन माग गरेका छन्।

सुरक्षा जोखिमलाई ध्यानमा राख्दै मेसीलाई तत्काल स्टेडियमबाट बाहिर निकालेर हैदराबाद पठाइएको थियो। यो घटनाले फुटबलप्रेमी शहर कोलकाताको छविमा धक्का पुगेको टिप्पणी भइरहेको छ। आयोजकहरूले प्रशंसकहरूको भावना उपेक्षा गरेको आरोप पनि लागेको छ।

मेसीको भारत भ्रमण हैदराबाद, मुम्बई र दिल्लीमा जारी रहनेछ। भारतीय फुटबलप्रेमीका लागि ऐतिहासिक मानिएको यो भ्रमण कोलकाताको अस्तव्यवस्थाका कारण अपेक्षित रूपमा स्मरणीय बन्न नसकेको भन्दै निराशा व्यक्त गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट