Techie IT
२०८२ माघ २८, बुधबार

सोमालियामा खडेरी गहिरिँदै, ४६ लाख मानिस प्रभावित

देशभरि लामो समयसम्म पर्याप्त वर्षा नहुँदा करिब ४६ लाख मानिस प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।


सोमालियामा लामो समयदेखि जारी खडेरीजन्य विपत्ति थप गहिरिँदै गएको भन्दै अधिकारीहरूले सोमबार गम्भीर चिन्ता व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसङ्घको मानवीय सहायता समन्वय निकाय (ओसीएचए) का अनुसार देशभरि लामो समयसम्म पर्याप्त वर्षा नहुँदा करिब ४६ लाख मानिस प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।

ओसीएचएले दुई प्रमुख वर्षा ऋतुमा न्यून वर्षा भएका कारण खडेरी चर्किँदै गएको र त्यसले मानवीय सङ्कटलाई थप गम्भीर बनाएको जनाएको छ । सहयोगका लागि आवश्यक कोष अभावले स्थिति अझ जटिल बनेको र पहिले नै नाजुक अवस्थामा रहेको सोमालियाको मानवीय अवस्था थप बिग्रँदै गएको ओसीएचएले जनाएको छ ।

राजधानी मोगादिसुबाट जारी पछिल्लो प्रतिवेदनमा सोमालियाली अधिकारीहरूले पशुपालन र खेतीमा आधारित जीविकोपार्जन ध्वस्त हुने जोखिम बढेको भन्दै जीवन रक्षा गर्न तत्काल अन्तर्राष्ट्रिय सहयोगको अपिल गरेका छन् ।

अधिकारीहरूका अनुसार आगामी चार महिनामा सङ्कट अझ चर्किन सक्ने अनुमान गरिएको छ । अर्को ठूलो वर्षा सन् २०२६ को अप्रिलसम्म हुने सम्भावना नरहेको पनि प्रतिवेदनमा उल्लेख छ ।

ओसीएचएले चेतावनी दिँदै भनेको छ, “आगामी वर्ष जनवरीदेखि मार्चसम्म रहने सुख्खा मौसमका कारण खडेरी, पानीको अभाव, असामान्य पशुधन बसाइँसराइ तथा पशुधन मृत्यु दरमा थप वृद्धि हुन सक्छ।” यसले देशका धेरै भागमा तीव्र खाद्य असुरक्षा बढाउने खतरा रहेको जनाएको छ ।

खडेरीको प्रभाव विशेषगरी मध्य, दक्षिणी र उत्तरी क्षेत्रहरूमा गम्भीर देखिएको छ भने अन्य क्षेत्रहरूमा पनि फैलिँदै गएको छ । यसले पहिले नै खाद्य सङ्कट झेलिरहेका समुदायहरूलाई थप जोखिमतर्फ धकेलिरहेको छ ।

यसैबीच, संयुक्त राष्ट्रसङ्घका आपतकालीन राहत संयोजकले खडेरीसँग जुध्न प्रारम्भिक राहतका लागि संयुक्त राष्ट्रसङ्घ केन्द्रीय आपतकालीन प्रतिक्रिया कोषबाट एक करोड अमेरिकी डलर विनियोजन गरेका छन् । यस सहयोगबाट छ लाख तीन हजारभन्दा बढी प्रभावित व्यक्तिलाई राहत उपलब्ध गराउने लक्ष्य लिइएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट