Techie IT
२०८२ पौष १०, बिहीबार

दुर्घटनाग्रस्त लिबियाली जेटको ब्ल्याक बक्स सुरक्षित फेला


लिबियाको सशस्त्र बलका प्रमुख लेफ्टिनेन्ट जनरल मोहम्मद अल-हद्दाद र उनका चार सहयोगीसहित सवार निजी जेट दुर्घटनाग्रस्त भएको घटनामा बुधबार विमानको ‘ककपिट भ्वाइस रेकर्डर’ र ‘ब्ल्याक बक्स’ फेला परेको टर्कीका अधिकारीहरूले जनाएका छन्।

टर्कीको राजधानी अंकाराबाट उडेको केही मिनेटमै फाल्कन-५० विमानमा विद्युतीय खराबी देखिएपछि आपतकालीन अवतरणका लागि अनुरोध गरिएको टर्कीका अधिकारीहरूले बताएका छन्। उक्त विमान अंकाराबाट त्रिपोली फर्किरहेको थियो।

टर्कीका सुरक्षाकर्मीहरूले अंकारा नजिकैको हेमाना जिल्लामा दुर्घटनाग्रस्त विमानको भग्नावशेष फेला पारेका हुन्।

दुर्घटनास्थलमै सञ्चारकर्मीलाई जानकारी दिँदै टर्कीका गृहमन्त्री अली येर्लिकायाले विमानको भ्वाइस रेकर्डर र ब्ल्याक बक्स सुरक्षित रूपमा भेटिएको र त्यसको परीक्षण तथा मूल्याङ्कन प्रक्रिया सुरु भइसकेको जानकारी दिए।

यसैबीच, टर्कीका यातायात मन्त्री अब्दुलकादिर उरालोग्लुले सामाजिक सञ्जाल एक्समार्फत जारी विज्ञप्तिमा विमान दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन भ्वाइस रेकर्डर र फ्लाइट डाटा रेकर्डर तटस्थ देशमा पठाइने बताएका छन्।

“दुर्घटनासम्बन्धी निष्कर्षहरू पूर्ण पारदर्शिताका साथ टर्की, लिबियालगायत अन्तर्राष्ट्रिय समुदायसमक्ष सार्वजनिक गरिनेछ,” मन्त्री उरालोग्लुले उल्लेख गरेका छन्।

लेफ्टिनेन्ट जनरल अल-हद्दाद टर्कीका सैनिक अधिकारीहरूसँग अंकारामा वार्ता सम्पन्न गरी त्रिपोली फर्किंदै हुनुहुन्थ्यो। विमानमा चालक दलका तीन सदस्यसहित कुल आठ जना सवार रहेको टर्कीका अधिकारीहरूले जनाएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट