म्यानमारमा अवैध स्क्याम सञ्चालक ‘मिङ परिवार’का ११ सदस्यलाई मृत्युदण्ड
चीनले म्यानमारमा अवैध स्क्याम सञ्जाल सञ्चालन गर्ने कुख्यात ‘मिङ परिवार’का ११ सदस्यलाई मृत्युदण्ड दिएको छ। चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार झेजियाङ प्रान्तको अदालतले उनीहरूलाई हत्या, अवैध थुनुवा, ठगी र जुवा घर सञ्चालनजस्ता गम्भीर अपराधमा दोषी ठहर गर्दै सेप्टेम्बरमा सजाय सुनाएको थियो।
मिङ परिवार म्यानमार–चीन सीमासँग जोडिएको लाउकाइङ सहरमा प्रभावशाली माफिया समूहको रूपमा परिचित थियो। अदालतका अनुसार उनीहरूको नियन्त्रणमा रहेको सहर केही वर्षमै क्यासिनो, रात्रि क्लब र रेड–लाइट क्षेत्रमा रूपान्तरण भएको थियो। गरिब र शान्त सहरलाई अपराधको केन्द्र बनाइएको थियो।
सन २०२३ मा म्यानमार सरकारले चीनको दबाबमा उनीहरूलाई पक्राउ गरी चीन सुपुर्दगी गरेपछि यो स्क्याम साम्राज्यको पतन भएको थियो। यी स्क्याम केन्द्रमा हजारौं चिनियाँ नागरिकलाई जबरजस्ती काममा लगाएर विदेशमा रहेका मानिसहरूलाई ठग्न बाध्य पारिन्थ्यो।
अदालतका अनुसार सन २०१५ देखि २०२३ सम्म मिङ परिवारले स्क्याम र जुवा कारोबारबाट १० अर्ब युआनभन्दा बढी आम्दानी गरेको थियो। उनीहरूको अपराधका कारण १४ चिनियाँ नागरिकको मृत्यु भएको थियो भने धेरै घाइते भएका थिए। यो घटनाले सीमापार अपराधविरुद्ध चीनको कडा नीति स्पष्ट रूपमै देखाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस