Techie IT
२०८२ चैत्र १०, मंगलबार

१५ हजार डलर बिना अमेरिकी भिसा नपाइने


अमेरिकी विदेश मन्त्रालयले कम्बोडिया, इथियोपिया र जर्जियासहित थप १२ देशका नागरिकहरूले अब भिसा प्राप्त गर्नुअघि १५ हजार अमेरिकी डलर ‘डिपोजिट’ गर्नुपर्ने नयाँ व्यवस्था घोषणा गरेको छ।

मन्त्रालयका अनुसार, ट्रम्प प्रशासनले अघि सारेको ‘भिसा बन्ड कार्यक्रम’ आगामी अप्रिल २ देखि लागू हुनेछ, जसअन्तर्गत करिब ५० देशका नागरिकहरू समेटिनेछन्।

यो कार्यक्रम छोटो अवधिका व्यापार तथा पर्यटन भिसामा लागू हुनेछ। यसको मुख्य उद्देश्य भिसा अवधिभन्दा बढी समय अमेरिकामा बस्ने प्रवृत्ति नियन्त्रण गर्नु रहेको बताइएको छ।

नयाँ व्यवस्थाअनुसार, भिसा लिने व्यक्तिले सबै सर्तहरू पालना गरी तोकिएको समयमै स्वदेश फर्किएमा जम्मा गरेको रकम फिर्ता दिइनेछ। तर, यदि भिसा अवधि नाघेर बसिएमा उक्त रकम जफत गरिनेछ।

अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको तथ्यपत्रअनुसार, यस कार्यक्रमअन्तर्गत हालसम्म करिब एक हजार जनालाई भिसा जारी गरिएको छ, जसमा ९७ प्रतिशत यात्रु सर्तअनुसार समयमै फर्किएका छन्।

यस कार्यक्रमअन्तर्गत थपिएका नयाँ देशहरूमा कम्बोडिया, इथियोपिया, जर्जिया, ग्रेनाडा, लेसोथो, मौरिसस, मङ्गोलिया, मोजाम्बिक, निकारागुआ, पपुवा न्युगिनी, सेसेल्स र ट्युनिसिया रहेका छन्।

यसअघि समेटिएका अन्य ३८ देशहरूमा अल्जेरिया, अङ्गोला, एन्टिगुवा र बार्बुडा, बङ्गलादेश, बेनिन, भुटान, बोत्सवाना, बुरुन्डी, काबो भर्दे, मध्य अफ्रिकी गणतन्त्र, आइभरी कोस्ट, क्युबा, जिबुटी, डोमिनिका, फिजी लगायत रहेका छन्।

यस्तै, गाम्बिया, गिनी, गिनी बिसाउ, किर्गिस्तान, मलावी, मौरिटानिया, नामिबिया, नाइजेरिया, साओ टोमे एन्ड प्रिन्सिपे, सेनेगल, ताजिकिस्तान, तान्जानिया, टोगो, टोंगा, तुर्कमेनिस्तान, तुभालु, युगान्डा, भानुआटु, भेनेजुएला, जाम्बिया र जिम्बावे पनि यस सूचीमा समावेश छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट