लेबननमा रक्तपात: २४ घन्टामै ३ शान्ति सैनिक मारिए, तनाव चर्किँदै
लेबननमा भएको श्रृंखलाबद्ध विस्फोट तथा आक्रमणमा परी संयुक्त राष्ट्रसंघीय शान्ति मिसन अन्तर्गत खटिएका तीन जना शान्ति सैनिकको मृत्यु भएको छ। दक्षिणी लेबननमा सोमबार शान्ति सैनिक सवार गाडीलाई लक्षित गरी गरिएको आक्रमणमा दुई जनाको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
उक्त विस्फोट कसले गराएको हो भन्ने हालसम्म खुल्न सकेको छैन। घटनामा दुई जना घाइते भएका छन्, जसमा एकको अवस्था गम्भीर र अर्काको मध्यम रहेको बताइएको छ।
मारिएका दुवै शान्ति सैनिक इन्डोनेशियाबाट खटिएका थिए। उनीहरू संयुक्त राष्ट्रसंघको शान्ति मिसन (युनिफिल) अन्तर्गत दुई आधारबीच यात्रा गरिरहेका बेला दक्षिणी सहर बानी हाइयान नजिक विस्फोट भएको हो।
यसअघि आइतबार पनि भएको अर्को आक्रमणमा एक जना शान्ति सैनिकको मृत्यु भएको थियो। अमेरिकी अखबार द न्युयोर्क टाइम्सका अनुसार ती सैनिक पनि इन्डोनेशियाकै थिए। अद्चित अल-कुसैर नजिक युनिफिल चौकी आसपास प्रोजेक्टाइल विस्फोट हुँदा उनको ज्यान गएको थियो भने एक जना गम्भीर घाइते भएका थिए।
यसरी २४ घन्टाको अवधिमा लेबननमा संयुक्त राष्ट्रसंघका तीन शान्ति सैनिकको मृत्यु भएको छ। युनिफिलकी प्रवक्ता क्यान्डिस आर्डियलले दुवै घटना फरक–फरक भएको र छुट्टाछुट्टै अनुसन्धान भइरहेको जानकारी दिएकी छन्।
इन्डोनेशियाको विदेश मन्त्रालयले पनि आफ्ना शान्ति सैनिकको मृत्यु भएको पुष्टि गर्दै घटनाको निष्पक्ष अनुसन्धानको माग गरेको छ। साथै, लेबननमा भइरहेको इसराइली हमलाको निन्दा गर्दै सबै पक्षलाई संयमता अपनाउन आह्वान गरेको छ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शान्ति सैनिकमाथि हुने आक्रमणलाई अन्तर्राष्ट्रिय मानवीय कानुनको गम्भीर उल्लंघन भन्दै कडा निन्दा गरेका छन्।
लेबननमा सन् १९७८ मा स्थापना गरिएको युनिफिल मिसनमा हाल करिब १० हजार शान्ति सैनिक तैनाथ छन्। पछिल्लो घटनामा कसको संलग्नता रहेको हो भन्नेबारे तत्काल स्पष्ट नभएको संयुक्त राष्ट्रसंघले जनाएको छ। इसराइल, हिजबुल्लाह वा युनिफिलले घटनाबारे औपचारिक प्रतिक्रिया दिएका छैनन्।
दक्षिणी लेबननमा इसराइल र हिजबुल्लाहबीच बढ्दो द्वन्द्वकै बीच यी घटनाहरू भएका हुन्। हालैका आक्रमणहरूमा सर्वसाधारण, स्वास्थ्यकर्मी र पत्रकारसमेत प्रभावित भएका छन्।
लेबननका अधिकारीहरूका अनुसार इसराइली आक्रमणमा हालसम्म १,२०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने १० लाखभन्दा बढी मानिस विस्थापित भएका छन्।
संयुक्त राष्ट्रसंघले घटनाबारे विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस