इरानसँग सम्झौता हुनु अघि ट्रम्पको कडा चेतावनी
अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पले इरानसँग हुन सक्ने सम्भावित सम्झौताबारे स्पष्ट सर्त राख्दै ‘इरानसँग परमाणु हतियार नहुने सर्त’ नै अमेरिकाको मुख्य उद्देश्य भएको बताएका छन्। भर्जिनियाको चार्लोट्सभिलतर्फ जाँदै गर्दा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो धारणा सार्वजनिक गरेको विविसीले जनाएको छ।
ट्रम्पका अनुसार उपराष्ट्रपति जेडी भान्स इस्लामावादमा युद्धविरामसम्बन्धी वार्ताका लागि प्रस्थान गर्नुअघि आफूले शुभकामना दिएको बताएका छन्। उनले अमेरिका–इरानबीचको वार्ता एकैपटक निष्कर्षमा पुग्ने वा आगामी हप्तासम्म लम्बिनेबारे अझै अनिश्चितता रहेको पनि उल्लेख गरेका छन् ।
‘इरानसँगको राम्रो सम्झौता कस्तो हुन्छ?’ भन्ने प्रश्नमा ट्रम्पले पुनः दोहोर्याउँदै भने, “हामीलाई चाहिएको एउटै कुरा हो - इरानसँग परमाणु हतियार नहोस्।” उनले इरानभित्र ‘शासन परिवर्तन भइसकेको जस्तो महसुस भएको’ टिप्पणीसमेत गरेका छन्।
त्यसैगरी, विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग स्ट्रेट अफ हर्मुज खुला रहने दाबी गर्दै ट्रम्पले इरानको सहकार्य भए पनि नभए पनि उक्त मार्ग छिट्टै पूर्ण रूपमा सञ्चालनमा आउने बताए। इरानले त्यहाँबाट गुड्ने जहाजहरूमा शुल्क लगाउने सम्भावनाबारे सोधिएको प्रश्नमा उनले स्पष्ट शब्दमा भने, “त्यो हुन दिइने छैन।”



तपाईको प्रतिक्रिया दिनुहोस