Techie IT
२०८३ वैशाख ६, आइतबार

सम्झौता नभए इरानका पावर प्लान्ट र पुल ध्वस्त पार्ने ट्रम्पको कडा चेतावनी


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको तनाव अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकार टोली सोमबार पाकिस्तान जाने बताएका छन्।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल एक्समार्फत अमेरिका इरानलाई ‘उचित सम्झौता’ प्रस्ताव गरिरहेको उल्लेख गर्दै तेहरानले उक्त प्रस्तावलाई गम्भीर रूपमा नलिए कडा सैन्य कारबाही गर्ने चेतावनी दिएका छन्। उनले इरानका पावर प्लान्ट र पुलहरूमा आक्रमण गर्नेसम्मको धम्की दिएका हुन्।

आइतबार गरिएको अर्को पोस्टमा ट्रम्पले इरानले पछिल्ला दुई हप्तादेखि लागू गरिएको युद्धविराम सहमतिका बुँदाहरू उल्लङ्घन गरेको आरोप लगाएका छन्। साथै, मध्यस्थकर्ताको अनुरोधमा वार्ता टोली पुनः पाकिस्तान पठाउन लागिएको जानकारी दिएका छन्।

सामाजिक सञ्जाल ट्रुथ सोसलमा उनले भनेका छन्, “यदि इरान सम्झौतामा सहमत भएन भने, विगत ४७ वर्षदेखि अमेरिकी राष्ट्रपतिहरूले नगरेको कदम चाल्नु मेरो लागि सम्मानको विषय हुनेछ। इरानका सबै पुलहरू ध्वस्त पारिनेछन्।”

यसबीच, इरान–अमेरिका तनावका कारण रणनीतिक महत्वको ‘स्ट्रेट अफ हर्मुज’ आइतबार पनि अवरुद्ध रहेको छ। तेहरानले शुक्रबार उक्त जलमार्ग पुनः खोल्ने घोषणा गरेपछि विश्व बजारमा सकारात्मक संकेत देखिएको थियो।

तर शनिबार पुनः समुद्री यातायातका लागि मार्ग बन्द गरिएको इरानले जनाएको छ। अप्रिल ११ र १२ मा पाकिस्तानमा भएको उच्चस्तरीय वार्तापछि पनि मध्यस्थताको प्रयास जारी रहेकै बेला इरानले अमेरिकी नाकाबन्दी नहटेसम्म महत्वपूर्ण समुद्री मार्ग नखोल्ने स्पष्ट पारेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट