अमेरिका-इरान भीषण सैन्य टकरावमा 'ब्रेक': युद्ध रोक्न दुवै देश सहमत
अमेरिका र इरानबिच पछिल्ला केही दिनयता चरमचुलीमा पुगेको सैन्य तनावलाई तत्कालका लागि थामथुम पार्न दुवै पक्ष सहमत भएका छन्। अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार, दुवै राष्ट्र तत्काल थप सैन्य आक्रमण नगर्न र उत्तेजना न्यून गर्न मञ्जुर भएका हुन्।
यो सहमति रणनीतिक रूपमा अत्यन्तै संवेदनशील मानिने हर्मुज जलसङ्कट (स्ट्रेट अफ हर्मुज) र आसपासका क्षेत्रमा भएका शृङ्खलाबद्ध आक्रमण तथा एकअर्कामाथि युद्धविराम उल्लङ्घनको आरोप-प्रत्यारोपपछि बनेको हो।
अमेरिकी सञ्चारमाध्यम सीबीएस न्युजसँग कुरा गर्दै एक उच्च अमेरिकी अधिकारीले अब खाडी क्षेत्रका जलमार्गहरूबाट व्यापारिक जहाजहरू बिनाअवरोध 'स्वतन्त्र रूपमा' आवतजावत गर्न पाउने दाबी गरेका छन्। साथै, सम्भावित युद्धको संकटलाई स्थायी रूपमा टार्नका लागि वार्ता प्रक्रियालाई निरन्तरता दिइने समेत उनले जानकारी दिए।
तनाव व्यवस्थापनका लागि पर्दापछाडि कूटनीतिक पहलहरू तीव्र पारिए पनि दुवै देशको नेतृत्वबिच अझै मतभेद देखिन्छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानकै अनुरोधमा कतारको राजधानी दोहामा भोलि (मंगलबार) एउटा उच्चस्तरीय बैठक आयोजना हुन लागेको खुलासा गरेका छन्। उनले आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मार्फत उक्त बैठकको पुष्टि गरे पनि विस्तृत कार्यसूची भने गोप्य राखेका छन्।
तर, ट्रम्पको यस दाबीलाई इरानले तत्कालै खण्डन गरेको छ। इरानी उप-परराष्ट्रमन्त्री काजेम घारिबाबादीले यस हप्ता कुनै पनि प्रकारको प्राविधिक वार्ताको योजना नरहेको भन्दै विरोधाभासपूर्ण बयान दिएपछि कूटनीतिक वृत्तमा संशय पैदा भएको छ।
पछिल्लो समय बल्झिएको यो तनावको मुख्य जड गत जुन १७ मा दुई देशबिच भएको १४ बुँदे समझदारी पत्रको पालना नहुनु हो। उक्त समझदारीमा सबै मोर्चामा सैन्य कारबाही अन्त्य गर्ने र इरानले ६० दिनसम्म व्यापारिक जहाजहरूको सुरक्षित मार्ग सुनिश्चित गर्ने स्पष्ट उल्लेख थियो।
गत बिहीबार इरानी क्षेप्यास्त्रले एक कार्गो जहाजमाथि भीषण प्रहार गरेपछि दुवै पक्षबिच पुनः युद्धको स्थिति सिर्जना भएको थियो। बदलामा अमेरिकाले इरानी सैन्य अखडालाई लक्षित गरी शक्तिशाली हवाई आक्रमण गरेको थियो भने जवाफमा इरानले पनि कुवेत र बहराइनस्थित अमेरिकी सैन्य बेसक्याम्पहरूमा क्षेप्यास्त्र बर्साएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस