अस्ट्रेलिया जान र बस्न अब झनै महँगो: अन्तर्राष्ट्रिय विद्यार्थीको ढाड सेक्ने गरी बढ्यो भिसा शुल्क
अस्ट्रेलियाको संघीय सरकारले नयाँ आर्थिक वर्षको सुरुआतसँगै (जुलाई १ देखि) लागु हुने गरी विद्यार्थी भिसा शुल्कलगायतमा भारी वृद्धि गरेको छ। सरकारको यो निर्णयले अस्ट्रेलियामा रहेका र जाने तयारीमा रहेका अन्तर्राष्ट्रिय विद्यार्थी, ग्राजुएट तथा प्रायोजक (स्पोन्सर) कम्पनीहरूमाथि ठुलो आर्थिक भार थपिने भएको छ।
भिसा शुल्कमा गरिएका मुख्य परिमार्जनहरू यस प्रकार छन्:
१. विद्यार्थी भिसा (सबक्लास ५००) शुल्कमा वृद्धि
विद्यार्थी भिसाको शुल्क २ हजार अस्ट्रेलियन डलरबाट बढाएर २ हजार ५ सय अस्ट्रेलियन डलर पुर्याइएको छ। विगत दुई वर्षको अवधिमा मात्रै अस्ट्रेलियाले विद्यार्थी भिसा शुल्क ७१० डलरबाट बढाएर २५ सय डलर पुर्याएको हो।
२. अंग्रेजी भाषा मात्र पढ्नेलाई छुट्टै शुल्क
अस्ट्रेलियाले पहिलोपटक अंग्रेजी भाषा मात्र पढ्न आउने विद्यार्थीका लागि छुट्टै भिसा शुल्क तय गरेको छ। यसअघि अन्य विद्यार्थीसरह शुल्क बुझाउँदै आएका यस्ता विद्यार्थीहरूले अब २ हजार ५० डलर शुल्क तिर्नुपर्नेछ।
३. ग्राजुएट भिसा (सबक्लास ४८५) मा २५ प्रतिशत वृद्धि
पढाइ सकेपछि अस्ट्रेलियामा काम गर्न पाइने ग्राजुएट भिसाको शुल्कमा २५ प्रतिशतले वृद्धि गरिएको छ। मार्चमा मात्रै २ हजार ३ सय डलरबाट बढाएर ४ हजार ६ सय डलर पुर्याइएको यो शुल्क चार महिना नबित्दै पुनः बढेर ५ हजार ७५० डलर पुगेको छ।
४. न्यूनतम पारिश्रमिकको सीमा (TSMIT) मा वृद्धि
पढाइ सकेर सोही विधामा काम गर्ने र कम्पनीहरूले प्रायोजन गर्ने भिसाहरू (सबक्लास ४८२ र ४९४) का लागि आवश्यक न्यूनतम पारिश्रमिकको सीमा ७६ हजार ५१५ डलरबाट बढाएर ७९ हजार ४९९ डलर पुर्याइएको छ। यसले गर्दा विदेशी कामदार स्पोन्सर गर्ने कम्पनीहरूसमेत दबाबमा पर्ने भएका छन्।
अस्ट्रेलियाका शैक्षिक निकायहरूले व्यवसाय अभिवृद्धिका लागि भिसा शुल्क घटाउन माग गरिरहेका बेला सरकारले ठीक उल्टो निर्णय गरेको हो। उता, त्यहाँका 'नेसनलिस्ट' पार्टीहरूले भने विदेशीहरूको बढ्दो प्रभाव रोक्न भन्दै कडा नीतिको माग गरिरहेका थिए।
नयाँ नियमबाट मुख्यतः पढाइ सकेर अस्ट्रेलियामै स्थायी बसोबास (PR) को पर्खाइमा रहेका विद्यार्थीहरू बढी प्रभावित हुनेछन्। यी सबै परिमार्जित शुल्कहरू जुलाई १ देखि अनिवार्य रूपमा लागु भइसकेको अस्ट्रेलियाको गृह मन्त्रालयले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस