Techie IT
२०८३ श्रावण ३, आइतबार

अमेरिकी निर्वाचनमा चीनले हस्तक्षेप गरेको ट्रम्पको आरोप, बेइजिङले गर्‍यो अस्विकार


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 'मिडटर्म' (मध्यावधि) निर्वाचनको पूर्वसन्ध्यामा चीनले अमेरिकी निर्वाचन प्रणाली र तथ्याङ्कमा हस्तक्षेप गरेको आरोप लगाएका छन्। यसको तत्काल खण्डन गर्दै शुक्रबार बेइजिङले उक्त दाबीलाई 'कपोलकल्पित' र निराधार भनेको छ। ट्रम्पले मतदाता ठगी (भोटर फ्रड) सम्बन्धी आफ्नो पुरानो दाबीलाई पुनः दोहोर्‍याएपछि उनी फेरि विवादको घेरामा तानिने अड्कलबाजी सुरु भएको छ।

बिहीबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले अमेरिकी निर्वाचन प्रणाली गम्भीर जोखिममा रहेको जिकिर गरेका थिए। उनले संसद्‌मा मतदान प्रक्रियालाई थप कडा बनाउने गरी नयाँ कानुनी प्रतिबन्धहरू लागू गर्न आह्वानसमेत गरे। यद्यपि, उनकै दल रिपब्लिकन पार्टीभित्र पनि यी नयाँ उपायहरूप्रति खासै उत्साह देखिएको छैन।

ट्रम्पको यस अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले पत्रकार सम्मेलनमा भने, "अमेरिकी पक्षबाट गरिएका यी दाबीहरू पूर्ण रूपमा मनगढन्ते र दुर्भावनापूर्ण छन्, जुन पहिले नै आधारहीन साबित भइसकेका छन्।"

प्रवक्ता लिनले चीनलाई अमेरिकी आन्तरिक राजनीतिमा कुनै चासो नभएको र कहिल्यै हस्तक्षेप नगरेको प्रस्ट पारेका छन् । उनले थप भनेः- "कुन देशले नियमित रूपमा अरूको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने बानी बसालेको छ भन्ने कुरा अन्तर्राष्ट्रिय समुदायलाई राम्रोसँग थाहा छ।" अमेरिकालाई आफ्नो व्यवहारको आत्मसमीक्षा गर्न आग्रह गर्दै उनले चीनमाथि हिलो छ्याप्न बन्द गर्न र दुई देशबीचको सम्बन्ध सुधार्ने दिशामा काम गर्न चेतावनी समेत दिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट