इरानसँगको युद्ध अन्त्यका लागि निकै सकारात्मक वार्ता भइरहेको छ - राष्ट्रपति ट्रम्प
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा झन्डै ९ प्रतिशतले गिरावट
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी द्वन्द्व अन्त्यका लागि निकै सकारात्मक र मैत्रीपूर्ण वार्ता भइरहेको बताएका छन्। पछिल्लो तीन दिनयता दुवै पक्षबाट कुनै सैन्य प्रहार नभएपछि युद्धविरामको सम्भावनाप्रति आशावादी देखिएका राष्ट्रपति ट्रम्पले ‘एयर फोर्स वान’ विमानमा पत्रकारहरूसँग कुरा गर्दै जारी वार्ताले सकारात्मक नतिजा दिनेमा आफू विश्वस्त रहेको बताएका छन् ।
यद्यपि, उनले यदि जारी वार्ता कुनै निष्कर्षमा नपुगे वा विफल भएमा अमेरिका पुनः पहिलेकै सैन्य कारबाहीमा फर्किने चेतावनी दिएका छन्। तेहरानले भने कुनै पनि प्रत्यक्ष वार्ता भइरहेको कुरालाई औपचारिक रूपमा अस्वीकार गरेको छ।
गत शुक्रबारदेखि अमेरिकाले इरानमाथि गरिरहेको हवाई आक्रमण स्थगित गरेको छ। ट्रम्पका अनुसार मध्यस्थकर्ता राष्ट्रहरूको आग्रहमा उनले वार्तालाई अर्को एउटा मौका दिने निर्णय गरेका हुन् । यसको लगत्तै इरानले पनि आफ्ना आक्रमणहरू रोकेको छ। विगत दुई सातादेखिको दैनिक आक्रमण र त्यसको प्रतिशोधले जुन महिनामा भएको युद्धविरामको सम्झौतालाई ओझेलमा पारेको थियो।
होर्मुज जलडमरूमा व्यावसायिक जहाजहरूको आवागमन सुरक्षित राख्ने उद्देश्यले अमेरिकाले सञ्चालन गरेको ‘अपरेसन एपिक फ्युरी’ का कारण तनाव चुलिएको थियो। द्वन्द्व मत्थर हुने संकेतसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा झन्डै ९ प्रतिशतले गिरावट आएर प्रति ब्यारेल ८७.५९ डलरमा झरेको छ।
पाँच महिना लामो सैन्य अभियानपछि अमेरिकी गोलाबारुदको भण्डार रित्तिएको भन्दै सञ्चारमाध्यममा आएका रिपोर्टहरूलाई राष्ट्रपति ट्रम्पले खण्डन गरेका छन्। उनले अमेरिकासँग आवश्यकभन्दा बढी मात्रामा गोलाबारुद र सैन्य सामग्री मौज्दात रहेको दाबी गर्दै विशेषगरी ‘प्याट्रियट’ जस्ता एन्टी-ब्यालिस्टिक मिसाइल प्रणालीको उत्पादन निरन्तर बढाइरहेको बताए।
ह्वाइट हाउसकी प्रवक्ता एना केलीले पनि अमेरिकाको सैन्य क्षमता पूर्ण रूपमा सुरक्षित रहेको र कुनै पनि रणनीतिक लक्ष्य पूरा गर्न पर्याप्त हातहतियार रहेको जिकिर गरिन्।



तपाईको प्रतिक्रिया दिनुहोस