Techie IT
२०८३ भाद्र ३, बुधबार

काभ्रेमा बर्डफ्लूको हाहाकार: ३० कृषकका लाखौँका पन्छी नष्ट


काभ्रेपलाञ्चोकमा बर्डफ्लू सङ्क्रमणका कारण हालसम्म ३० जना कृषकका लाखौँ मूल्यबराबरका पन्छीमा क्षति पुगेको छ। बर्डफ्लू सङ्क्रमणबाट पीडित कृषकलाई राहत तथा क्षतिपूर्ति दिलाउने प्रक्रिया सुरु गरिएको जिल्ला पशुसेवा कार्यालय धुलिखेलले जनाएको छ।

कार्यालयका अनुसार हालसम्म २० जना कृषकले क्षतिको मूल्याङ्कनका आधारमा क्षतिपूर्तिबापतको रकम प्राप्त गरिसकेका छन्। बाँकी १० कृषकको क्षतिपूर्ति रकम चालु आर्थिक वर्षभित्रै प्रदान गरिने कार्यालयका प्रमुख तथा वरिष्ठ पशु चिकित्सक ब्रजकिशोर ठाकुरले जानकारी दिएका छन्।

विभिन्न मितिमा बर्डफ्लू सङ्क्रमण पुष्टि भएका ३० कृषकका खोरमा रहेका कुखुरा तथा अन्य पन्छीहरू सुरक्षा मापदण्ड अपनाएर नष्ट गरिएका थिए। प्रभावित ३० कृषकमध्ये २० जनाले गत आर्थिक वर्षको अन्त्यतिरै राहत रकम पाइसकेका छन्।

९० हजारभन्दा बढी पन्छी नष्ट
काभ्रेपलाञ्चोकमा गिरिराज कुखुरा, लेयर्स, ब्रोइलर, राजहाँस, स्थानीय कुखुरा र पेकिङ हाँससमेत गरी कुल ९० हजार २७५ वटा पन्छी नष्ट गरिएको छ। यसका साथै ३८ हजार १८३ वटा अण्डा, १० हजार २१० किलोग्राम दाना र पाँच हजार २७५ क्रेट पनि नष्ट गरिएको कार्यालयले जनाएको छ। विशेषगरी जिल्लाका बनेपा, पनौती तथा पाँचखाल क्षेत्रका विभिन्न व्यावसायिक फार्महरूमा बर्डफ्लूको सङ्क्रमण भेटिएको थियो।

काठमाडौँ उपत्यकासँग जोडिएको काभ्रेपलाञ्चोक यस महामारीबाट नराम्ररी प्रभावित भएको छ। कोशी प्रदेशबाट २०८२ चैतमा सुरु भएको उक्त महामारी गत असार मसान्तसम्म काभ्रेपलाञ्चोकसहित देशका विभिन्न जिल्लामा फैलिएको थियो। उपत्यकासँग जोडिएका कारण बीपी तथा अरनिको राजमार्ग, अन्य सहायक सडक र खुला नाकाहरूबाट भित्रिने पन्छीजन्य सामग्रीका कारण जिल्लामा बर्डफ्लूको जोखिम अत्यधिक बढेको थियो।

बर्डफ्लू प्रमाणित हुन र सङ्क्रमित पन्छी नष्ट गर्न लामो समय लाग्ने लगायतका विविध प्रशासनिक ढिलाइले गर्दा कृषकहरू ठूलो आर्थिक सङ्कटमा पर्नुपरेको चिकित्सक ठाकुरले बताए। मरेका कुखुरा तथा हाँसलाई खोला, झाडी र अन्य खुला स्थानमा जथाभावी फाल्ने प्रवृत्तिका कारण काग तथा अन्य जङ्गली चराचुरुङ्गीमार्फत सङ्क्रमण थप फैलिएको निष्कर्ष निकालिएको छ।

सङ्क्रमण फैलिन नदिन कार्यालयले परीक्षण, व्यवस्थापन तथा ओसारपसार नियन्त्रणका कामलाई तीव्र बनाएको छ। व्यावसायिक पोल्ट्री फार्महरूमा बायोसेक्युरिटीका मापदण्ड कडाइका साथ लागू गराई खोरमा अनावश्यक व्यक्तिको प्रवेश रोकिएको छ। साथै, खोर तथा उपकरण नियमित रूपमा सफਾ राख्न र पन्छी ओसारपसार गर्दा पूर्ण सरसफाइका मापदण्ड पालना गर्न कृषकहरूलाई निर्देशन दिइएको छ।

हाल जिल्लाका नाला, रोशी र खावा चेकपोस्टहरूमा परीक्षणबिना तथा अवैध रूपमा हुने पन्छीको ओसारपसारमाथि कडा निगरानी राखिनुका साथै नियन्त्रणको कामलाई समेत प्रभावकारी बनाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट