अब जुम्लामै रगत पाइने, प्रतिष्ठानमा रक्तसञ्चार सेवा सुरु
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रक्तसञ्चार सेवा (ब्लड ट्रान्सफ्युजन सर्भिस) औपचारिक रूपमा सञ्चालनमा आएको छ। यो सेवा सुरु भएपछि आकस्मिक उपचार, शल्यक्रिया, प्रसूति सेवा, चोटपटक तथा अन्य जटिल अवस्थाका बिरामीले स्थानीयस्तरमै सहज रूपमा रगत पाउन सक्ने भएका छन्।
प्रतिष्ठान र अमेरिका नेपाल मेडिकल फाउन्डेसनको सहकार्य तथा आर्थिक सहयोगमा यो सेवा स्थापना गरिएको हो। शुक्रबारदेखि सञ्चालनमा आएको यस सेवाले रगतको अभावका कारण यसअघि बिरामी र तिनका आफन्तले भोग्नुपरेको सास्ती अन्त्य हुने विश्वास गरिएको छ।
प्रतिष्ठानका निर्देशक डा. वनम्र विष्टका अनुसार, यसअघि बिरामीलाई रगत आवश्यक पर्दा आफन्तहरूले निकै सास्ती व्यहोर्नुपर्ने बाध्यता थियो। अब भने प्रतिष्ठानमै तत्काल रगत उपलब्ध हुने भएकाले उपचारमा ठूलो सहयोग पुग्नेछ।
नयाँ रक्त सेवा सञ्चालनले विशेष गरी आकस्मिक उपचार र शल्यक्रिया गर्नुपर्ने बिरामीहरूका लागि ठა राहत पुग्ने प्रतिष्ठानले जनाएको छ। साथै, रगतको नियमित आपूर्ति र अभाव हुन नदिन प्रतिष्ठानले सम्पूर्ण सर्वसाधारणलाई नियमित रक्तदानमा सहभागी हुन जोडदार आह्वान गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस