प्रयोग र संरक्षणको पर्खाइमा लोमान्थाङको तातोपानी कुण्ड

मुस्ताङको लोमान्थाङ गाउँपालिका-५ स्थित तातोपानी कुण्ड, प्राकृतिक सम्पदाका रूपमा रहेको यो मुहान संरक्षण र विकासको अभावमा ओझेलमा परेको छ।
अध्ययन अनुसन्धान, पूर्वाधार, व्यवस्थापन र संरक्षणको अभावमा लोमान्थाङको फेदीमा रहेको प्राकृतिक तातोपानीको मुहानलाई प्रयोगमा ल्याउन नसकिएको हो । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङका अनुसार तातोपानीलाई पर्यटकीय गन्तव्यका रूपमा उपयोग गर्न चालु आर्थिक वर्षमा रु १० लाख बजेट विनियोजन गरिएको छ। लोमान्थाङका चिसो हावापानीमा यो कुण्डलाई व्यवस्थित गरी स्नानका लागि पोखरी बनाउने योजना समेत रहेको छ।
लोमान्थाङदेखि ३० मिनेट पैदलयात्रा गरेपछि तातोपानीको मुहानमा पुगिन्छ । स्थानीयका अनुसार तातोपानी कुण्डमा स्नान गर्दा हाडजोर्नी तथा छालासम्बन्धी रोग निको हुन्छन् । तातोपानीमा स्नान गरेपछि थकान मेटाउन र शारीरिक स्फूर्ति हुन्छ ।
यहाँ ५० डिग्री सेल्सियसको तातोपानी प्राकृतिक वरदान मानिन्छ, जसले हाडजोर्नी तथा छालाका रोग निको पार्न सहयोग पुर्याउने विश्वास छ। सडक पूर्वाधार विस्तारले लोमान्थाङको यो ऐतिहासिक क्षेत्र सहज रूपमा पहुँचयोग्य बनेको छ, जसले गर्दा पर्यटकको बसाइ लम्बाउन समेत यो कुण्डलाई आकर्षण केन्द्र बनाउन सकिनेछ।
तिब्बती संस्कृतिसँग मेल खाने सांस्कृतिक परम्परा, दरबार, गुम्बा र ऐतिहासिक माटोको पर्खालले घेरिएको लोमान्थाङ गाउँ, समुद्री सतहदेखि तीन हजार सात सय २० मिटरको उचाइमा रहेको यस क्षेत्रले वार्षिक रूपमा तीन हजारभन्दा बढी विदेशी र नेपाली पर्यटकलाई लोभ्याइरहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस