नेपालगञ्जको विधि विज्ञान प्रयोगशालामा जनशक्ति र प्रविधिको अभाव

नेपाल प्रहरी प्रदेश कार्यालयको विधि विज्ञान एकाइ नेपालगञ्जमा स्थापना भएदेखि फौजदारी घटनासँग सम्बन्धित २,२६७ घटनाका ६,७८२ नमूनाहरूको परीक्षण भएको छ।
अपराध अनुसन्धानका लागि सीमा जनशक्ति र प्रविधिमा कार्यरत यो प्रयोगशालाले आफ्नो कार्य क्षेत्रमा सघनता र निरन्तरता ल्याएको छ।
नेपाल प्रहरी प्रदेश कार्यालय, विधि विज्ञान एकाइ, नेपालगञ्जका प्रमुख यमलाल बस्नेतका अनुसार, फौजदारी अपराधमा प्रयोग हुने शङ्कास्पद नमूनाहरूको परीक्षण विधि विज्ञान प्रयोगशालाबाट हुँदै आएको छ।
विषादी परीक्षण, मादक पदार्थ र लागुपदार्थको जाँचलगायत अन्य अप्राकृतिक मृत्युका घटनाहरूमा भौतिक सबुद प्रमाणहरूको परीक्षणसमेत प्रयोगशालामा गरिन्छ।
बस्नेतले भने, "पर्याप्त जनशक्ति र प्रविधि नहुँदा केही जटिल घटनाहरूको अनुसन्धानमा ढिलाइ भएको छ," तर सीमित साधन स्रोतको प्रभावकारी प्रयोगमार्फत सेवा प्रवाह जारी रहेको उल्लेख गरे ।
प्रयोगशालामा हुने परीक्षण कार्यमा विषादी जाँचका लागि भिसेरा, खाना, पेय पदार्थ, ¥याल, बान्ता, र ‘स्टोम्याच वास’ लगायतका जैविक तथा रासायनिक तत्वहरूको विश्लेषण गरिन्छ। अदालतमा जटिल घटनाहरूको मुद्दा विचाराधीन रहेमा अदालतलाई वैज्ञानिक स्पष्टता दिन प्रमाणहरू बकपत्रमार्फत बुझाउने व्यवस्था गरिएको छ, जसले फौजदारी न्याय प्रणालीलाई बल पुर्याएको छ।
नेपालगञ्जको यो विधि विज्ञान प्रयोगशालाले लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका घटनाहरूको नमूना परीक्षण समेत गर्दै आएको छ। यसले गर्दा कामको चाप बढेको र जनशक्ति तथा प्रविधिमा चुनौती उत्पन्न भएको बस्नेतले बताए। प्रदेशअनुसार, लुम्बिनीका १,११२ घटनामा ३,०८८ नमूना, कर्णालीका ४८७ घटनामा १,३५० नमूना र सुदूरपश्चिमका ६६८ घटनामा २,३४४ नमूनाहरूको परीक्षण सम्पन्न भइसकेको छ ।
काठमाडौँ बाहिर पश्चिम नेपालमा रहेको यो विधि विज्ञान प्रयोगशालाले अनुसन्धान र फौजदारी न्याय प्रणालीलाई सघाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। लागुऔषध नमूनाको परीक्षणसमेत सुरु गर्ने तयारीमा रहेको यो प्रयोगशाला फौजदारी न्यायमा महत्त्वपूर्ण परिवर्तन ल्याउने आशा गरिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस