पूर्णपाठ आएपछि आफै अदालत उपस्थित हुन्छुः दीपक मनाङे, भ्रामक समाचार प्रति आपत्ति

गण्डकी प्रदेश सभा सदस्य राजिब गुरूङ (दीपक मनाङे) ले आफूलाई निरन्तर फोन आइरहेकाले मोबाइल बन्द गरेको बताएका छन्। उनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै केही सञ्चार माध्यमहरूले भ्रामक समाचार सम्प्रेषण गरिरहेकोमा आपत्ति जनाएका छन्।
मनाङेले विज्ञप्तिमा भनेका छन्, "फैसला आउँदाको दिनदेखि केही गुणस्तरहीन सञ्चार माध्यमहरूबाट आइरहेका फोन कलहरूका कारणले केही समयका लागि मैले मोबाइल अफ गरेको छु। यस विषयलाई लिएर विभिन्न सञ्चार माध्यमहरूमा गलत समाचारहरू फैलाइएकोमा म आपत्ति प्रकट गर्दछु।"
उनले सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ प्राप्त भएपश्चात् अदालतमा स्वयम् उपस्थित हुने जानकारी पनि गराएका छन्।
गत मंगलबार सर्वोच्च अदालतले मनाङेलाई चक्रे मिलन भनिने मिलन गुरूङमाथि तरबारले हमला गरी हात काट्ने अपराधमा दोषी ठहर गरेको थियो।
न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले उच्च अदालतको अघिल्लो फैसलालाई सदर गर्दै मनाङेलाई दोषी करार गरेको हो। यद्यपि, अदालतले मंगलबारको दिनमा संक्षिप्त फैसला मात्रै जारी गरेको थियो, तर पूर्णपाठ आउने समयबारे अझै यकिन भएको छैन।
तपाईको प्रतिक्रिया दिनुहोस