Techie IT
२०८३ असोज ६, मंगलबार

नेताहरूको कुर्सी मोहका लागि साँठगाँठ रोक्न नेता खनालको चेतावनी


नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले केन्द्रीय संयोजन समितिको बैठक तत्काल बोलाउन माग गरेका छन्। मुलुकको पछिल्लो जटिल राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै नेता खनालले आइतबार एक विज्ञप्ति जारी गरी पार्टीले कुनै पनि नयाँ राजनीतिक समीकरणबारे निर्णय लिनुअघि संस्थागत छलफल हुनुपर्ने अडान राखेका हुन्।

विज्ञप्तिमा उनले सत्ता केन्द्रित राजनीति र नेताहरूको व्यक्तिगत स्वार्थमाथि कडा प्रहार गरेका छन्।

“आजको राष्ट्रिय आवश्यकताका बारेमा पार्टी कमिटीमा विस्तृत रूपले छलफल गरियोस्। क्रान्तिकारी उद्देश्य र वर्ग दृष्टिकोणलाई सर्वोपरि राखेर मात्र प्रदेशसभाहरूमा सरकार बनाउने सम्बन्धमा नीतिगत निर्णय गरियोस्। पार्टीलाई दक्षिणपन्थी वर्ग सम्झौतावादको दलदलतिर जानबाट संस्थागत रूपले बचाइयोस्,” खनालले विज्ञप्तिमा भनेका छन्, “केही नेताहरूको कुर्सी मोह र आत्मतृप्तिका निम्ति मात्र गरिने अपवित्र साँठगाँठको प्रवृत्तिलाई रोकियोस् र आम जनतालाई क्रान्तिकारी परिवर्तनको दिशामा अघि बढाइयोस्।”

पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले नेपालका सबै कम्युनिस्ट र वामपन्थी शक्तिहरूले अहिलेको समय सत्ताको साँठगाँठ गर्ने नभई, सही कार्यदिशाका आधारमा पार्टीलाई पुनर्गठन र रूपान्तरण गर्ने बेला हो भन्ने कुरा बुझ्नुपर्नेमा जोड दिएका छन्। वैचारिक स्पष्टता बिना दक्षिणपन्थी शक्तिहरूसँग चुनावी वा सत्ता साझेदारी गर्दा कम्युनिस्ट पार्टीको प्रतिष्ठा र जनविश्वासमा अझ बढी आँच पुग्ने खतरा रहेको भन्दै उनले नेतृत्वलाई सचेत गराएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट