मुख्यमन्त्री कार्की सोमबार तेस्रो पटक विश्वासको मत लिँदै
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी सोमबार (भदौ ८ गते) तेस्रो पटक विश्वासको मत लिने तयारी गरेका छन्। विश्वासको मत लिने प्रयोजनका लागि मुख्यमन्त्रीले प्रदेशसभा सचिवालयलाई औपचारिक पत्राचार गरिसकेको मुख्यमन्त्रीको सचिवालयले पुष्टि गरेको छ।
मुख्यमन्त्री कार्कीले आजै विश्वासको मत लिने योजना बनाएका थिए, तर पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग थप परामर्श र तीनबुँदे सहमति कार्यान्वयनका विषयमा 'ब्रिफिङ' गर्नुपर्ने भएकाले मिति सोमबारसम्मका लागि सारिएको स्रोतले जनाएको छ। एमाले सांसद मीना श्रेष्ठका अनुसार संसद् सचिवालयले सोमबार विश्वासको मत लिने कार्यक्रम तय भइसकेको जानकारी सांसदहरूलाई गराइसकेको छ।
मुख्यमन्त्री कार्की शनिबार एमाले अध्यक्ष ओलीसँग भेट गर्न काठमाडौँ जाने कार्यक्रम छ। यद्यपि, सोही दिन एमाले महासचिव शंकर पोखरेल विराटनगर आउने कार्यक्रम रहेकाले मुख्यमन्त्रीको काठमाडौँ भ्रमणबारे अन्तिम निर्णय हुन बाँकी छ।
नेपाली कांग्रेसले भदौ ३ गते नै समर्थन फिर्ता लिएको पत्र सचिवालयमा दर्ता गराएपछि मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुपर्ने संवैधानिक परिस्थिति सिर्जना भएको हो। यसअघि साउन ९ गते एमाले र नेकपा (माओवादी केन्द्रसहितको गठबन्धन) बीच सरकारमा सहभागी हुने सहमति भएको थियो। सोही सहमतिबमोजिम नेकपाका मन्त्रीहरू कोशी सरकारमा सहभागी भइसकेका छन्।
कोशी प्रदेशसभामा ९२ सदस्य रहेका छन्। हाल एमालेका ४० र कांग्रेसका २९ सांसद छन्। त्यस्तै, माओवादी केन्द्र र एकीकृत समाजवादी मिलेर बनेको समूहका १७, राप्रपाका ५ (सभामुखसहित) र जसपाका १ सांसद छन्। मुख्यमन्त्री कार्कीले यसअघि २०८१ वैशाख ३१ गते पहिलो पटक र असोज २ गते दोस्रो पटक विश्वासको मत प्राप्त गरेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस