कहाँबाट आयो रसुवामा आकस्मिक बाढी ?
जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढी पूर्वानुमान महाशाखाका अनुसार, घटनाको २४ घण्टा अगाडि रसुवा र आसपासका क्षेत्रमा उल्लेखनीय वर्षा नभएको पुष्टि भएको छ ।

मंगलबार बिहान करिब ३ बजे रसुवास्थित भोटेकोशी नदीमा अचानक ठूलो बाढी आउँदा जनधनमा भारी क्षति पुगेको छ । बाढीले तीन प्रहरी, नौ सर्वसाधारण र छ चिनियाँ नागरिकसहित १८ जनालाई बेपत्ता बनाएको छ भने सात जनाको मृत्यु पुष्टि भएको छ । ५५ जनाको सकुशल उद्धार गरिएको छ।
बाढीले नेपाल–चीन नाका जोड्ने मितेरी पुल बगाएपछि दुबै देशबीचको आवागमन पूर्ण रूपमा ठप्प भएको छ । गोसाईंकुण्ड गाउँपालिका–५ स्थित पासाङ ल्हामू सडकखण्डको धुन्चे–टिमुरे खण्ड पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । बाढीले रसुवागढी जलविद्युत् आयोजना, इभी चार्जिङ स्टेसन, भन्सार यार्ड, लोडेड कन्टेनर र सयभन्दा बढी सवारीसाधनमा क्षति पुर्याएको छ ।
बाढीको कारण: वर्षा नभएपछि आशंका गहिरियो
जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढी पूर्वानुमान महाशाखाका अनुसार, घटनाको २४ घण्टा अगाडि रसुवा र आसपासका क्षेत्रमा उल्लेखनीय वर्षा नभएको पुष्टि भएको छ । विभागका अनुसार, क्याञ्जिङ र धुन्चे मौसम केन्द्रमा सामान्य फाटफुट पानी परेको छ भने विश्व मौसम संगठनको ‘फ्ल्यास फ्लड गाइडेन्स सिष्टम’का अनुसार पनि भोटेकोशी जलाधार क्षेत्रमा वर्षा देखिएको छैन।
यसका आधारमा, बाढीको कारण वर्षा नभई अन्य स्रोत हुनसक्ने आशंका छ । हाइड्रोलोजिस्ट सौहार्द जोशीका अनुसार, भोटेकोशीको तिब्बती क्षेत्रबाट एक्कासि ठूलो पानीको बहाव आएकोले हिमताल विस्फोट (GLOF) अथवा अन्य भूगर्भीय घटनाको सम्भावना रहेको बताउँछन् ।
महाशाखाका प्रमुख विनोद पराजुलीका अनुसार, स्याटलाइट तस्वीरहरूको अध्ययन सुरु गरिएको छ । स्याफ्रुबेसी र बेत्रावती जलमापन केन्द्रमा एक्कासि जलसतह बढेको देखिएको छ, जसले अकस्मात् बाढीको पुष्टि गर्छ । स्याफ्रुबेसीमा पानीको सतह ३ः४० बजे ५.३७ मिटर पुगेपछि मापन नै बन्द भएको छ, जसको अर्थ मापन उपकरण बगाएको हुन सक्ने सम्भावना देखाउँछ ।
बाढीका सम्भावित कारणहरू:
बाढीको मूल कारणबारे हालसम्म तीन प्रमुख आशंका रहेका छन्:
हिमपहिरोबाट नदी थुनिँदा एक्कासी बाढी आउनु (Landslide Dam Outburst Flood - LDOF)
तिब्बती क्षेत्रमा रहेको हिमताल विस्फोट (Glacial Lake Outburst Flood - GLOF)
उद्गम क्षेत्रमा गएको हिमपहिरो
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, जल तथा मौसम विज्ञान विभाग, र चीनसँगको समन्वयमा थप अनुसन्धान जारी रहेको छ ।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार, चिनियाँ प्रशासनसँगको समन्वयमा १४ दिनअघिदेखि संभावित बाढीको चेतावनी दिइएको थियो, जसका कारण ठूला क्षति न्यूनीकरण भएको हो । यद्यपि रसुवागढी भन्सार क्षेत्रमा व्यवसायीले समयमा गाडी सार्न नसकेको र ८–९ वटा इभी गाडी र कन्टेनर बगाएको रिपोर्ट छ ।
उद्धार र क्षतिको विवरण
उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयवासी खटिएका छन् । हालसम्म ५५ जनाको सकुशल उद्धार भएको छ भने इलाका प्रहरी कार्यालय टिमुरेका ३ प्रहरी कर्मचारी, ६ जना चिनियाँ नागरिक, र विभिन्न गाडीका चालक तथा मजदूर गरी १८ जना अझै बेपत्ता छन्।
बेपत्ताहरूको सूची
प्रहरी: लालबहादुर श्रेष्ठ (प्र.स.नि.), मुन्ना ठाकुर (प्र.ज.), लोकेन्द्र बोहोरा (प्र.ज.)
चिनियाँ नागरिक:
Yu Yue
Li Huaqing
Yang Chuan
Yu Hai Hang
You Xiao Qiu
Jou Yong
अन्य नेपाली नागरिक: जिपन चौधरी (बर्दिया), सन्तोष दहित, बुद्धिराम थारु, लक्ष्मीनारायण थारु, सुरेश थारु, नरेन्द्र विक (बाग्लुङ), फुर्वा लामा (कन्टेनर चालक), गोविन्द मोक्तान (मिक्चर चालक), लोकमान तामाङ (हाइलक्स चालक)
तपाईको प्रतिक्रिया दिनुहोस