आयात बढ्दा व्यापार घाटा १५ खर्ब नाघ्यो

कोभिड महामारीपछिका वर्षहरूमा मन्द रहेको नेपालको वैदेशिक व्यापार गत आर्थिक वर्ष २०८१/८२ मा भने सुधारिएको छ । भन्सार विभागका अनुसार सो अवधिमा १८ खर्ब ४ अर्ब १२ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ, जुन अघिल्लो वर्षको तुलनामा १३.२५ प्रतिशतले बढी हो ।
तर, आयात वृद्धि हुनासाथ व्यापार घाटा पनि बढेको छ। निर्यातको हिस्सा अझै न्यून रहेकाले गत वर्ष १५ खर्ब २७ अर्ब रुपैयाँको व्यापार घाटा भएको विभागले जनाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ६ प्रतिशत बढी हो। आर्थिक वर्ष २०८०/८१ मा १४ खर्ब ४० अर्ब व्यापार घाटा थियो।
वस्तु आयात अघिल्लो वर्षको तुलनामा २ खर्ब ११ अर्ब १३ करोडले वृद्धि भएको हो। २०८०/८१ मा १५ खर्ब ९२ अर्ब ९८ करोडको आयात भएको थियो।
आर्थिक वर्ष २०८१/८२ मा निर्यातमा उल्लेख्य वृद्धि भएको छ । सो अवधिमा २ खर्ब ७७ अर्ब रुपैयाँको वस्तु निर्यात गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा ८१.८ प्रतिशत (१ खर्ब २४ अर्ब)ले बढी हो । २०८०/८१ मा कुल निर्यात १ खर्ब ५२ अर्ब रुपैयाँ थियो ।
नेपालको वैदेशिक व्यापार भारतमा अत्यधिक निर्भर छ । २०८१/८२ मा भारतबाट मात्रै १० खर्ब ७१ अर्बको वस्तु आयात भएको छ, जुन कुल आयातको ५९ प्रतिशत हो । त्यस्तै, कुल निर्यातको ८१ प्रतिशत अर्थात् २ खर्ब २४ अर्ब रुपैयाँको वस्तु भारतमा नै निर्यात भएको छ।
त्यस्तै, चीनबाट तीन खर्ब ४१ अर्ब रुपैयाँको आयात भएको छ । तर, चीनतर्फ निर्यात भने अत्यन्तै न्यून जम्मा २ अर्ब ६३ करोड रुपैयाँ मात्रै रहेको छ ।
२०७८/७९ मा जस्तै २०८१/८२ मा पनि सर्वाधिक आयात डिजेलको भएको छ । एक वर्षमा १४ लाख ६६ हजार २८५ किलोलिटर डिजेल भित्रिएको छ, जसको मूल्य १ खर्ब २८ अर्ब रुपैयाँ पुगेको छ ।
त्यसपछि कच्चा भटमासको तेल आयातमा १ खर्ब ८ अर्ब रुपैयाँ खर्चिएको छ । पेट्रोल आयात ७ लाख ४६ हजार ४२० किलोलिटर रहेको छ, जसको मूल्य ६४ अर्ब १२ करोड रुपैयाँ हो । खाना पकाउने ग्यास (एलपी ग्यास) को आयातमा ६२ अर्ब १२ करोड खर्च भएको छ, जसअन्तर्गत ५५ करोड ४६ लाख किलोग्राम ग्यास नेपाल भित्रिएको छ ।
स्मार्टफोनतर्फ हेर्दा, २१ लाख ८४ हजार ६९४ थान स्मार्टफोन आयात हुँदै ३५ अर्ब ५४ करोड रुपैयाँ खर्चिएको छ । त्यस्तै, कुल २ खर्ब ७७ अर्बको निर्यातमा मात्रै एक खर्ब ६ अर्ब रुपैयाँको निर्यात भटमासको तेल एक्लैले ओगटेको छ, जुन हालसम्मकै सर्वाधिक हो।
तपाईको प्रतिक्रिया दिनुहोस