आजबाट जुनसुकै कम्पनीको सिलिन्डर साट्न पाइने
हालै आएको विनाशकारी बाढीका कारण काठमाडौँ उपत्यकामा देखिएको खाना पकाउने ग्यास (एलपी ग्यास) को गम्भीर आपूर्ति समस्या समाधान गर्न सरकारले नयाँ र आपतकालीन व्यवस्था लागू गरेको छ।
बाढीले ढुवानी तथा आपूर्ति प्रणालीमा अवरोध पुर्याएपछि उपभोक्ताले ग्यास पाउन अत्यधिक सास्ती व्यहोर्नुपरेको अवस्थालाई मध्यनजर गर्दै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले नेपाल आयल निगम र ग्यास उद्योगीहरूसँगको आपतकालीन छलफलपछि यो महत्त्वपूर्ण निर्णय गराएकी हुन्।
अब उपत्यकाभित्रका उपभोक्ताले आफूसँग भएको जुनसुकै कम्पनीको खाली सिलिन्डर दिएर बजारमा सहजै उपलब्ध अर्को कम्पनीको भरिएको सिलिन्डर सोही तोकिएको मूल्यमा साट्न पाउनेछन्। आफूले प्रयोग गर्दै आएको निश्चित ब्रान्ड बजारमा अभाव भएमा वा सहजै प्राप्त नभएमा अन्य ब्रान्डको सिलिन्डरमार्फत ग्यास खरिद गर्ने सुविधा उपभोक्तालाई दिइएको छ। आपूर्ति चक्र खल्बलिएका कारण उपभोक्तालाई तत्काल राहत दिन यो अस्थायी व्यवस्था गरिएको हो।
मन्त्री यादवले यो निर्णयलाई तत्काल प्रभावकारी र कडाइका साथ कार्यान्वयन गर्न नेपाल आयल निगम तथा सम्पूर्ण ग्यास उद्योगहरूलाई कडा निर्देशन दिएकी छिन्।
संकटको यो घडीमा मौका छोपी कृत्रिम अभाव सिर्जना गर्ने, सिलिन्डर साट्न आनाकानी वा अस्वीकार गरी उपभोक्तालाई अनावश्यक दुःख दिने तथा तोकिएको नियमको उल्लङ्घन गर्ने जोकसैलाई पनि प्रचलित कानुनबमोजिम कडाभन्दा कडा कारबाही गरिने मन्त्रालयले स्पष्ट चेतावनी दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस