Techie IT
२०८२ असार २५, बुधबार

बागलुङमा आलुखेती विस्तार: किसानको चासो बढ्दो


बागलुङ जिल्लामा आलुखेतीको विस्तारमा जोड दिइएको छ। जिल्लाको माथिल्लो क्षेत्रमा आलु उत्पादन बढ्दै र राम्रो हुँदै गएपछि पछिल्लो दुई वर्षदेखि यस क्षेत्रमा आलुखेतीको विस्तारको प्रयास तीव्र भएको हो। किसानले आलुखेती प्रति रुचि देखाएपछि कृषि ज्ञान केन्द्रले लगानी गर्दै यसलाई थप प्रोत्साहन दिएको छ।

बागलुङको तमानखोला, ताराखोला, निसीखोला, काठेखोला गाउँपालिका र ढोरपाटन नगरपालिका आलु उत्पादनका लागि उपयुक्त क्षेत्र भएको हुँदा यहाँका किसानलाई तालिम, प्रविधि, बीउ, र यन्त्र उपकरणको सहयोग प्रदान गरिएको छ। कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवालका अनुसार, ज्ञान केन्द्रले गत वर्ष रु २ करोड ६० लाख आलुखेती विस्तारमा लगानी गरेको थियो भने चालु आर्थिक वर्षमा रु १ करोड ५९ लाख थप लगानी गरिनेछ।

नयाँ क्षेत्र र उत्पादन
गत वर्ष बागलुङमा १३६ हेक्टर नयाँ क्षेत्रमा आलु लगाइएको थियो र यस वर्ष थप क्षेत्रफलमा विस्तार गर्ने योजना रहेको छ। जिल्लामा बर्खे र हिउँदे आलु गरी दुई याममा उत्पादन हुने गर्छ। प्रमुख सिलवालका अनुसार, यस वर्ष ३७०० हेक्टरमा आलु लगाइएको छ। तर, उत्पादन भने घटेको छ। गत वर्षको तुलनामा यस वर्ष ५६ हजार २४० मेट्रिक टन मात्र आलु उत्पादन भएको छ, जुन प्रतिहेक्टर १५.२ मेट्रिक टन मात्र हो। यो गिरावटको मुख्य कारण चैत र वैशाख महिनामा परेको लामो खडेरी हो।

खडेरीको असर 
खडेरीका कारण उत्पादनमा आएको १५ प्रतिशत कमीले किसानको आयमा प्रत्यक्ष असर परेको छ। ढोरपाटन-९ का किसान झकेन्द्र विकका अनुसार, गत वर्ष उनले करिब रु ४ लाखको आलु बिक्री गरेका थिए भने यस वर्ष त्यो घटेर रु २ लाख ८० हजारमा सीमित भयो। विकले भने, "सुरुमा बोट राम्रो भएको भए पनि उत्पादन कम भयो।"

किसानहरूले आलुका लागि उचित मूल्य पाएका छन्। हिउँदे आलु प्रतिकिलो रु ४० र बर्खे आलु प्रतिकिलो रु ५० मा बिक्री हुँदै आएको छ। बागलुङमा उत्पादित आलु बुटवल, चितवन, र बागलुङका स्थानीय बजारमा बिक्री हुन्छ।

आधुनिक प्रविधिको प्रयोग
कृषि ज्ञान केन्द्रले आलु खेतीमा किसानलाई आधुनिक प्रविधिको प्रयोग गर्न प्रोत्साहित गरिरहेको छ। केन्द्रले किसानलाई आलुको बीउ, सिँचाइका लागि पाइप, यन्त्र उपकरण र तालिम प्रदान गरेको छ। प्रमुख सिलवालका अनुसार, पुरानो शैलीको खेती छोडेर किसानहरूले प्रविधिको प्रयोग गर्न थालेका छन्। यसबाट उत्पादनमा केही सुधार देखिए पनि प्राकृतिक कारणहरूले उत्पादनमा केही कमी आएको बताइन्छ।

बागलुङका किसानहरूको आलुखेतीमा चासो बढ्दै गएपछि आलु खेतीलाई थप व्यवस्थित र आधुनिक बनाउन प्रदेश सरकारबाट पनि बजेट विनियोजन हुँदै आएको छ। गत वर्ष गण्डकी प्रदेश सरकारले खायन आलुखेतीका लागि रु ३ करोड ६० लाख विनियोजन गरेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट