कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालन

नेपाल र चीनबीचको सीमामा अवस्थित कोरला नाका, मुस्ताङमा पहिलो पटक अध्यागमन कार्यालय सञ्चालनमा आएको छ। गृहमन्त्री रमेश लेखकले मंगलबार आयोजित एक विशेष कार्यक्रममा यो कार्यालयको औपचारिक उद्घाटन गरेका छन् । नयाँ कार्यालय सञ्चालनसँगै दुई देशका नागरिक आवतजावत र द्विपक्षीय व्यापारमा नयाँ अवसरहरू थपिने अपेक्षा गरिएको छ।
व्यापार र पर्यटनमा नयाँ सम्भावना
कोरला नाका गण्डकी प्रदेशको उत्तरी सिमानामा पर्दछ । यो चीनसँग जोडिएको नेपालको महत्वपूर्ण सिमानाका मध्ये एकका रूपमा विकास हुँदैछ। यसअघि यो नाका स्थानीय मुस्ताङवासीले मात्र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर व्यापारिक उद्देश्यका लागि प्रयोग गर्ने गर्थे।
तर, अब अध्यागमन कार्यालयको सञ्चालनसँगै यो नाका सबै नेपाली नागरिकका लागि खुला गरिएको छ, जसले गर्दा दुई देशका नागरिकहरूलाई सहज आवतजावतको सुविधा मिल्ने विश्वास गरिएको छ।
कोरला नाकामा अध्यागमन र सुरक्षा सुविधा विस्तारका लागि नेपाल सरकारले प्रिफ्याब प्रविधिबाट १० कोठे अध्यागमन कार्यालय र सुरक्षा पोष्ट स्थापना गरेको छ। त्यस्तै, कोरला नाकासम्म विद्युत् सेवा विस्तार गरिएको छ र नेपाल टेलिकमले इन्टरनेट तथा मोबाइल सेवा उपलब्ध गराएको छ, जसले गर्दा नाका क्षेत्रमा डिजिटल पहुँच समेत सहज भएको छ।
चीनले पनि आफ्नोतर्फ भन्सार कार्यालय र अन्य आवश्यक पूर्वाधार निर्माण गरिसकेको छ । यस नाकाले दुई देशबीचको व्यापारिक गतिविधि थप व्यवस्थित र द्रुत बनाउन मद्दत पुर्याउनेछ।
गृहमन्त्री रमेश लेखकले कार्यालयको उद्घाटन कार्यक्रममा चीनसँगको आर्थिक र सामाजिक सम्बन्धलाई थप सुदृढ बनाउन कोरला नाका महत्वपूर्ण हुने कुरा व्यक्त गरेका थिए। उनले नेपाल र चीनका नागरिकहरूको आवतजावतमा यो नाकाले सहजता ल्याउने मात्र होइन, व्यापारिक अवसरलाई समेत वृद्धि गराउने बताए।
समुद्र सतहदेखि ४६५० मिटरको उचाइमा रहेको कोरला नाका गत वर्ष कात्तिक २७ गते चीनको सिगात्से प्रान्तको झोम्वा काउन्ट्रीका मेजेष्ट्री नुर्वु छिरिङ र मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले संयुक्त रूपमा उद्घाटन गरेका थिए। यो नाकाको सञ्चालनले गण्डकी प्रदेशको उत्तरमा चीनसँग र दक्षिणमा भारतसँग जोडिन सक्ने सम्भावना बढेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस