श्रेष्ठ–भण्डारी भेटपछि माओवादी केन्द्रमा तरंग

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग गोप्य भेट गरेपछि पार्टीभित्र तरंग उत्पन्न भएको छ । १९ असारमा भण्डारी निवासमा श्रेष्ठ पुगेर भेटघाट गरेपछि यो विषयले पार्टीभित्र बहस मात्र नभई असन्तोष समेत बढाएको छ।
पूर्वराष्ट्रपति भण्डारीले १४ असारमा मदन जयन्तीको अवसरमा एमालेको सदस्यता नविकरण गरी सक्रिय राजनीतिमा पुनः प्रवेशको घोषणा गरेकी थिइन् । त्यसको पाँच दिनपछि श्रेष्ठले उनलाई भेटेका थिए । तर, पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि महासचिव देव गुरुङसम्मलाई उक्त भेटको जानकारी नभएको विषय सार्वजनिक भएपछि नेतृत्व तहमै असहजता देखिएको छ ।
प्रचण्ड असन्तुष्ट
श्रेष्ठले भण्डारीसँगको भेटबारे प्रचण्डलाई जानकारी नदिएको विषय पार्टी पदाधिकारी बैठकमा उठेको थियो । बिहीबार बसेको बैठकमा अध्यक्ष प्रचण्डले आफूलाई दुई दिनपछि मात्र भेटको थाहा भएको बताएका थिए । एक पदाधिकारीका अनुसार प्रचण्डले श्रेष्ठलाई प्रश्न गर्दै भनेका थिए, “तपाईंले विद्याजीलाई भेट्नुभयो, तर मलाई थाहा किन दिनुभएन?”
श्रेष्ठले भने संक्षिप्त जवाफमा “भेट त भएको हो, जानकारी दिन बिर्सिएँ” भन्दै कुरा टार्ने प्रयास गरेका थिए । तर प्रचण्डले यो जवाफलाई सहज रूपमा लिएका छैनन् । श्रेष्ठले भण्डारीसँग वाम एकता सम्बन्धी प्रस्ताव अघि सारेको चर्चा चलिरहेको छ । तर त्यसबारे श्रेष्ठ र भण्डारी दुवैले सार्वजनिक रूपमा केही बोलेका छैनन् । माओवादी केन्द्रले भने २३ असारमा विज्ञप्ति जारी गर्दै एमालेसँग एकता गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ ।
पार्टी प्रवक्ता अग्नि सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “हाम्रो पार्टीको एमालेसँग एकता गर्ने नीति र सोच नरहेको स्पष्ट पार्दछौँ। समाचारमा भनिएजस्तो श्रेष्ठले पूर्वराष्ट्रपति भण्डारीसँग एकताका लागि भेट गरेको विषयमा पार्टीलाई कुनै जानकारी छैन।”
विश्वस्त स्रोतका अनुसार श्रेष्ठले २७ जेठमा पनि भण्डारीलाई गोप्य रूपमा भेटेका थिए । पहिलो भेटबारे समाचार बाहिर नआएको भए पनि दोस्रोपटकको भेट बाहिरिएपछि पार्टी नेतृत्व झन् सशंकित बनेको छ ।
माओवादी महासचिव देव गुरुङले पनि यो विषयमा पार्टीलाई जानकारी नभएको र एमाले नेतृत्वको कार्यशैलीका कारण वाम एकता सम्भव नभएको बताएका छन्। उनले भने, “विद्याजीको एमाले प्रवेशपछि के हुन्छ भन्ने अहिले भन्न सकिन्न। त्यो उहाँको सोच, नीति र दृष्टिकोणमा भर पर्छ। अहिले माओवादी केन्द्रले यस्तो कुनै योजना बनाएको छैन।”
राजनीतिक विश्लेषकहरूका अनुसार वरिष्ठ नेताले पार्टी अध्यक्षलाई अन्धकारमा राखेर दोहोरिदो रूपमा पूर्वराष्ट्रपतिसँग भेटघाट गर्नु सामान्य कुरा होइन । यसको अर्थ गम्भीर सन्देश दिन खोजिएको वा वैकल्पिक राजनीतिक समीकरणबारे संकेत गर्न खोजिएको जस्तो देखिन्छ ।
अहिलेको भेटघाट र त्यसको सार्वजनिक प्रतिक्रिया सन्दर्भमा हेर्दा माओवादी केन्द्रभित्र विश्वासको संकट र आन्तरिक समन्वयको अभाव देखिएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस