भदौदेखि देवघाटमा विद्युतीय शवदाह सञ्चालनमा आउने

चितवन, ५ साउनः पवित्र धार्मिक तीर्थस्थल देवघाटमा सात वर्षअघि निर्माण थालिएको विद्युतीय शवदाह भवनको निर्माण कार्य सम्पन्न भएको छ । विद्युत् र मेसिन जडानसँगै आगामी भदौदेखि शवदाह पूर्ण रूपमा सञ्चालनमा आउने भएको हो ।
विक्रम संवत् २०७५ माघ ३ गते निर्माण थालिएको शवदाह भवन पटकपटक मिति थप हुँदै अहिले सम्पन्न भएको हो । मिलिनियम सिद्धगढी जेभीले ठेक्का पाएको शवदाह भवन सघन सहरी तथा भवन निर्माण कार्यालय भरतपुरले निर्माण गरेको हो । कार्यालयका प्रमुख झपटबहादुर थापाका अनुसार साउनभित्रमा शवदाह भवनको बाँकी काम सम्पन्न गरी भरतपुर महानगरपालिकालाई हस्तान्तरण गर्ने तयारी छ ।
भवनको निर्माणसम्पन्न भए पनि यसमा विद्युत् जोड्ने, शवदाहको मेसिन जडान, प्रविधिलाई तालिमलगायतको काम बाँकी रहेको उनले जानकारी दिएका छन् । यी सबै काम सम्पन्न गरेर शव पोल्ने जनशक्तिलाई तालिम दिएपछि दायित्व पूरा हुने उनको भनाइ छ । आन्तरिक तयारीको सबै काम सकिएपछि भवन हस्तान्तरण गरिने थापाले बताए ।
भवनको काम हेर्दै आउनुभएका कार्यालयका इन्जिनियर द्रोण कटुवालका अनुसार विद्युत् जडानका लागि मिटर आइसकेको छ । केही दिनमा मिटर जडान हुनेछ । यससँगै महानगरपालिकाले पठाउने जनशक्तिलाई तालिम दिइनेछ । भवनमा दुईवटा शवदाह गर्ने मेसिन जडान गरिएको छ । ती मेसिनले अधिकतम ९० मिनेटमा शवलाई जलाउनेछन् । शव राख्नुपर्दा चारवटा शव राख्न मिल्नेगरी ‘फ्रिज’ जडान गरिएको छ ।
बर्सातमा पानीको सतह माथि आएकाले भुइँतला खाली गरी माथिल्लो तलामा उपकरण जडान गरिएको छ । क्रियापुत्री बस्नका लागि ठाउँ छुट्याइएको छैन । आवश्यकताअनुसार क्रियापुत्रीका लागि भुइँतलामा व्यवस्थापन गर्न सकिने उहाँले बताउनुभयो । भवनमा शौचालय, स्नानघरलगायतका सुविधासमेत रहेको छ ।
देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले विद्युतीय शवदाहले धेरै सहज हुने बताउनुभयो । उहाँका अनुसार सरदर हिसाब गर्दा दैनिक सात दशमलव पाँच शव देवघाट आउने गर्दछन् । ती शव अन्त्येष्टि गर्न अहिले एक महिनामा रु दुई लाख ५० हजारको दाउरा खरिद गर्नुपरेको छ । विद्युतीय शवदाह सञ्चालनसँगै दाउराको खपत घट्ने उनको भनाइ छ ।
बर्सातमा शव जलाउन कठिन हुने, दाउराको समस्या, समयको बचत सबै विषयले शवदाह धेरै प्रभावकारी हुने उहाँले बताउनुभयो । सहरी विकास कार्यालयले रु ११ करोड २१ लाख आठ हजार ६४१ मा शवदाह गृह निर्माण गरेको हो । शवदाह भवन ६०० वर्गमिटर क्षेत्रफलमा बनेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस