भारत–पाकिस्तान तनावबारे जी-सेभेनको चासो: संयमता अपनाउन आह्वान

विश्वका प्रमुख सात औद्योगिक राष्ट्रहरूको समूह जी–सेभेनले परमाणु शक्तिशाली छिमेकी राष्ट्र भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै दुबै पक्षलाई उच्चतम संयमता अपनाउन आग्रह गरेको छ ।
शनिबार सार्वजनिक गरेको विज्ञप्तिमा जी–सेभेनले कुनै पनि थप सैन्य तनावले सम्पूर्ण दक्षिण एशियाली क्षेत्रीय स्थायित्वलाई गम्भीर खतरा पुर्याउने चेतावनी दिएको छ ।
“हामी दुवै पक्षका नागरिकहरूको सुरक्षाप्रति गम्भीर चिन्तित छौँ,” विज्ञप्तिमा उल्लेख गरिएको छ । समूहले भारत र पाकिस्तानलाई प्रत्यक्ष संवादमा सहभागी हुन आग्रह गर्दै कूटनीतिक समाधानको बाटो अवलम्बन गर्न सुझाव दिएको छ ।
“हामी घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेका छौँ र चाँडो र दिगो कूटनीतिक समाधानका लागि समर्थन जनाउँछौँ,” जी–सेभेनको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
के हो जी–सेभेन?
जी–सेभेन (G7) विश्वका सात प्रमुख विकसित अर्थतन्त्र भएका मुलुकहरूको समूह हो । यसको विश्वव्यापी व्यापार, आर्थिक नीति र अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा ठुलो प्रभाव रहेको छ । यसमा अमेरिका, क्यानाडा, बेलायत, फ्रान्स, जर्मनी, इटाली र जापान सदस्य छन् ।
सन् १९९८ मा रुसलाई सदस्य बनाएपछि यो समूह ‘जी–८’ भएको थियो । तर सन् २०१४ मा रुसले युक्रेनको क्राइमिया क्षेत्रमाथि कब्जा गरेपछि उसलाई निष्कासन गर्दै समूह फेरि जी–सेभेनमा सीमित गरियो ।
चीनले विशाल अर्थतन्त्र र जनसंख्या राखे पनि यो समूहमा स्थान पाएको छैन । यसको कारण चीनको प्रतिव्यक्ति आय जी–सेभेन सदस्य राष्ट्रहरूभन्दा निकै कम हुनु हो । तथापि, चीन जी–२० (G20) नामक ठूलो समूहमा भने सामेल छ, जहाँ विकसित र विकासोन्मुख राष्ट्रहरूबीच सहकार्य हुन्छ ।
युरोपेली संघ (EU) भने जी–सेभेनको औपचारिक सदस्य होइन, तर उसका प्रतिनिधिहरू वार्षिक शिखर सम्मेलनहरूमा सहभागी हुन्छन् । जी–सेभेनका मन्त्रीहरू वर्षभरि विविध बैठक गरी विश्वव्यापी समस्याका सन्दर्भमा साझा नीतिगत अभिव्यक्ति सार्वजनिक गर्ने गर्दछन् ।
तपाईको प्रतिक्रिया दिनुहोस