तीन महिनामा देशभर ३ हजारभन्दा बढी विपद्का घटनाबाट १६० जनाको मृत्यु
बितेका तीन महिनामा देशका विभिन्न भागमा भएका तीन हजारभन्दा बढी विपद्का घटनामा परि एक सय ६० जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाख १ देखि असार ३२ गतेसम्म देशभर कुल ३ हजार २ सय ९६ वटा विपद्का घटना दर्ता भएका छन् । ती घटनामा परी दुई जना बेपत्ता भएका छन् भने ९ सय ४५ जना घाइते भएका छन् । विपद्का कारण यस अवधिमा ४ हजार ३ सय ७५ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएको प्राधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
प्राधिकरणको तथ्याङ्क अनुसार यस अवधिमा सबैभन्दा बढी ८ सय ९७ आगलागीका घटना भएका छन्, जसमा १७ जनाको मृत्यु, १ सय ९ जना घाइते र ९ सय ९० परिवार विस्थापित भएका छन् । तराई तथा ग्रामीण क्षेत्रमा गर्मी बढेसँगै सर्पदंशका ५ सय १४ घटना हुँदा सबैभन्दा धेरै ३८ जनाको ज्यान गएको छ भने ४ सय ७९ जना घाइते भएका छन् । त्यस्तै, ४ सय ७७ हावाहुरीका घटनामा १३ जना, ४ सय ३३ पहिरोका घटनामा १२ जना, तथा २ सय २३ चट्याङका घटनामा २४ जनाको मृत्यु भएको छ । मनसुन सक्रिय भएसँगै सुरु भएका १ सय ६१ बाढीका घटनामा ९ जनाको मृत्यु र दुई जना बेपत्ता भएका छन् भने १ सय ५३ भारी वर्षाका घटनामा चार जनाले ज्यान गुमाएका छन् ।
यसबाहेक, हिमाली क्षेत्र र ग्रामीण भेगमा वन्यजन्तुको आक्रमणका १ सय ८१ घटनामा १७ जनाको मृत्यु भएको छ भने १ सय ३ जना घाइते भएका छन् । पर्वतारोहण र पदयात्राका क्रममा लेक लागेर (अल्टिच्युड सिकनेस) ५५ वटा घटनामा २१ जनाको मृत्यु भएको छ भने ३५ जना अझै अस्वस्थ रहेका छन् । सुख्खा मौसममा भएका १ सय ९१ वन डढेलोका घटनामा एक जना र हिउँपहिरोका दुई घटनामा एक जनाको ज्यान गएको छ । मनसुन अझै सक्रिय रहने र बाढी-पहिरोको जोखिम उच्च रहेकाले नदी तटीय क्षेत्र तथा पहिरोग्रस्त भूभागका नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन प्राधिकरणले विशेष आग्रह गरेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस